पोर्चुगलमा पनि सबि श्रेष्ठको अपरिभाषित आभा लोकार्पित

पोर्चुगल । अनेसास पोर्चुगलकी अध्यक्ष समेत रहेकी साहित्यकार सबि श्रेष्ठको मुक्तक कृति “अपरिभाषित आभा” गत बुधबार पोर्चुगलको राजधानी लिस्बनमा लोकार्पण भएको छ । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औ जन्मजयन्ती भब्यताका साथ मनाइएको थियो । अनेसास पोर्चुगलले वन्डरपुपेट लिस्बोनमा आयोजना गरिएको कार्यक्रममा सिद्धिचरण जन्मजयन्तीसङ्गै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो । 

अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालबाट आएका एपेक नेपालका अध्यक्ष वरिष्ठ  कवि विश्वविमोहन श्रेष्ठ तथा विशेष अतिथि बेलायत निवासी अनेसास सल्लाहकार  डा. रुपक श्रेष्ठ रहेका थिए । 

कार्यक्रममा अनेसास पोर्चुगल अध्यक्ष श्रेष्ठले लेखेको मुक्तक कृति अपरिभाषित आभाको प्रमुख अतिथि, विशेष अतिथि लगायतले सामूहिक लोकार्पण गरे ।  उक्त कार्यक्रममा आठौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्तित्वहरुलाई धन्यवाद पत्र अर्पण गरी सम्मानसमेत गरिएको थियो । कार्यक्रममा पोर्चुगल लिस्बनका लागि नेपाली महावाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए पोर्चुगल अध्यक्ष उमेशकुमार खड्का, अनेसास पोर्चुगल सल्लाहकार तथा एनआरएनए निवर्तमान अध्यक्ष रबिन अधिकारी, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, जनसम्पर्क समिति पोर्चुगल अध्यक्ष युवराज पन्थी, अन्तर्राष्ट्रिय नेपाली समाज अध्यक्ष अर्जुन घिमिरे, व्यवसायी सूर्य हमाल, समीर भट्टराई, नारायणकाजी मगर, सन्चारकर्मी भरत प्रधान, छविलाल बगाले, अनेसास दर्पणका कार्यकारी सम्पादक तथा इप्रेस प्रालिका कार्यकारी निर्देशक रमेश दाहाल, गायक तथा सङ्गीतकार अर्जुन सुनाम, दुर्गा थापा, युन्छेमी सुब्बा लगायतलाई सम्मान गरिएको थियो । 

नवलपुर समाज अध्यक्ष  प्रेम बुडापृथी, तमु समाज निवर्तमान अध्यक्ष विकास गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज सचिव गजलकार सोम अनुराग, गायक तथा सङ्गीतकार सुनिल परियार, राजन श्रेष्ठ, सुदिन आचार्य, रेखा नेपाली लगायतले शुभकामना तथा रचना वाचन गरेका थिए । अपरिभाषित आभा कृतिमाथि साहित्यकार मुना चौधरीले टिप्पणी गरेकी थिइन् । गायक तथा सङ्गीतकार सुनिल परियारले राजमति कु मति वासुरीको धुनबाट सुनाए भने गायक तथा सङ्गीतकार अर्जुन सुनाम लगायतले सिद्धिचरण श्रेष्ठको चर्चित कविता मेरो प्यारो ओखलढुंगा गाएर सुनाएका थिए । 

प्रमुख अतिथि वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले नेपाली साहित्यलाई अनेसासको माध्यमबाट विभिन्न देशका विभिन्न भाषामा अनुवाद गरेर विश्व साहित्यमा पुर्याउन जोड दिनुपर्ने बताए । विशेष अतिथि डा. रुपक श्रेष्ठले मन्तव्यका क्रममा अनेसासले विश्व साहित्यलाई जोड्नका लागि पुलको काम गरेको बताए । 

कार्यक्रममा अनेसास पोर्चुगलका सल्लाहकार अर्जुन श्रीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन अनेसास पोर्चुगल महासचिव एन.बी. अन्जानले गरेका थिए । 

— राजकुमार थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *