काठमाडौं ।
सिधाकुरा डटकमका प्रकाशक र सम्पादक जेल चलान भएका छन् । सर्वोच्च अदालतले गरेको फैसला अनुसार उनीहरु केन्द्रीय कारागार सुनधारा जगन्नाथदेवल चलान भएका हुन् ।
जेल चलान हुनुभन्दा अगाडि सम्पादक नविन ढुंगानाले फेसबुक मार्फत आफूहरु दुबै जना केन्द्रीय कारागारमा गएको बताएका हुन् । उनीहरुले आफूहरु तोकिएको समय कैद सजाय बसेर बाहिर आउने र समाचारको धर्मबाट कहिल्यै विचलित नहुनेसमेत भनेका छन् ।
आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३–३ महिनाको कैद सजाय सुनाएको हो ।
सीधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चार माध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।
सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा समाचार प्रकाशन तथा प्रशारण गरेको थियो । सर्वोच्चले तमल्सिनालाई भने ६ महिना कैद गर्न आदेश दिएको छ । त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । सुरुमा संयुक्त इजलासले हेरेको यो मुद्दा पछि बृहत पूर्ण इजलासमा पठाइएको थियो । बृहत पूर्ण इजलासले चार पटक निर्णय सुनाउने मिति सारेर आइतबार फैसला सुनाएको हो ।
समाचार लेखेर वा प्रकाशित गरेर अदालतको अवहेलना गरेको भन्ने मुद्दामा सर्वोच्च अदालतले गरेको यो सबैभन्दा ठूलो कैद सजाय हो । यसअघि सर्वोच्च अदालत र प्रधानन्यायाधीशको कार्टुन बनाएको आरोपमा पत्रकार हरिहर विरहीले ७ दिन कैद सजाय भोगेका थिए ।
अनिल रेग्मी ।