सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका तीन, युरोपका दुई, र अफ्रिकाको एउटा देशमा विश्वकप गरिने जनाएको छ ।
दक्षिण दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जेन्टिना र पारग्वेले, युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्कोले विश्वकप आयोजना गर्ने छन् ।
विश्वकपको शुरुवाती सन् १९३० मा उरुग्वेबाट शुरू भएको थियो । सो प्रतियोगिता भएको १०० वर्ष पुग्ने उपलक्ष्यमा २०३० को विश्वकप आयोजना विश्वभर फैलाउन लागिएको हो ।
विश्वकपको उद्घाटन खेल उरुग्वेमा हुने बताइएको छ । किनकि, १०० वर्ष अघिलाई मध्यनजर गर्दै त्यसैलाई निरन्तरता दिन लागिएको हो।
यस निर्णयलाई अर्को वर्ष बस्ने फिफा कंग्रेसले औपचारिकता दिने अध्यक्ष जियोभानी इन्फान्टिनोले बताएका छन् ।
गत वर्ष कतारमा भएको पछिल्लो संस्करणको विश्वकप अर्जेन्टिनाले जितेको थियो । अब २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले विश्वकपको आयोजना गर्दैछन् ।