Home Login
प्रवास

कतारले अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई आम माफी

कतार — कतारले अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई आम माफी दिने भएको छ। कतारको आन्तरिक मन्त्रालयले फेब्रुअरी ९ तारिखबाट लागु हुने गरी तीन महिना सम्मका लागि आम माफी दिने घोषणा गरेको हो।

यस अन्तर्गत कतारमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिइने मन्त्रालयले उल्लेख गरेको छ। अब कतारी आइडीको म्याद सकिएर नवीकरण नगरेका र कम्पनी छोडेर भागेकालाई उनीहरूको देश फर्कने मौका दिइएको छ। यस्तै कतारमा लुकीछुपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई स्वदेश फर्कन दिने बताइएको छ।

आम माफीको अवधिमा बिना जरिवाना तथा बिना जेल सजाय घर फर्कन दिइने मन्त्रालयको भनाइ छ। यो सुविधा लिन हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सलवार रोडमा रहेको सर्च एण्ड फलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ।

कतारमा करिब ४ लाख नेपाली भएपनि कति अवैध हैसियतमा रहेका छन् भन्ने यकिन तथ्याङ्क छैन। तर कतारले ल्याएको आम माफीको सुविधाबाट अवैध हैसियतमा रहेका नेपाली पनि लाभान्वित हुनेछन्।

Leave a Reply