

बेल्जियम — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पत्रकार केजिन राई प्रवासमा रहेर जनपक्षीय पत्रकारिता मार्फत समाज रुपान्तरणमा अतुलनीय योगदान पुर्याउनु भएकोमा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट क्रियाशील पत्रकारिता मर्फत चैत्र १६ गते पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष समेत रहेका राईले वि.सं. २०४७ सालबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएको थियो ।
युगध्वनी साप्ताहिक पत्रिकाबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएका पत्रकार राईले चोमोलोङ्मा, काठमाडौँ टुडे, साल्पा, हिमालय, नेपाल टाइम्स दैनिक, लोकपत्र दैनिक, अपराह्न, छानबिन साप्ताहिक, जनमञ्च साप्ताहिक, मध्यान्तर पाक्षिकलगायत विभिन्न पत्रपत्रिकामा समेत काम गर्नुभयो ।
रहरैरहरको पत्रकारिताले व्यवसायिक पत्रकार बन्नुभएका पत्रकार राई खोटाङबाट प्रकाशित मध्यान्तर पाक्षिकमा सल्लाहकार सम्पादक र लेनमुक (दिव्यदृष्टि) मा सम्पादक समेत बन्नुभएको थियो ।
नेपाल टाइम्समा रहँदा खेलकुद पत्रकार टोलीको नेतृत्व गर्दै रिपोर्टिङ (समाचार सङ्कलन) का लागि पत्रकार राई स्वीटजरल्यान्ड समेत पुग्नुभयो । नेपाल टाइम्स र लोकपत्र दैनिकका ‘न्युजरुम’ मा धेरै समय काम गर्नुभएका पत्रकार राईले खेलकुद, संसद् र अपराधलाई कार्यक्षेत्र (बिट) बनाउनुभएको थियो ।

पत्रकारिता गर्दागर्दै वि.सं. २०५५ सालमा पोर्चुगल पुग्नुभएका पत्रकार राई हाल बेल्जियम हुनुहुन्छ । सोह्र वर्षदेखि बेल्जियममा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकार राई प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट सम्मानित हुनुभएको हो ।
प्रवासमा रहेर पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको कदरस्वरुप पत्रकार राईलाई ‘क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको आयोजक प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’ले जानकारी दिनुभएको छ ।
बेल्जियमनिवासी पत्रकार राई नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्ष बन्नुभएपछि युरोप शाखाले आधिकारिक मान्यता पाएको जनाइएको छ ।
रोजगारीको सिलसिलामा बेल्जियममा रहनभएका पत्रकार राई अहिलेसम्म पनि पत्रकारिताबाट टाढिनुभएको छैन । तेस्रोपटक नेपाल पत्रकार महासङ्घ युरोप शाखा अध्यक्ष निर्वाचित हुनु त्यसको गतिलो प्रमाण हो ।
रोजगारीसँगै नेपाली पत्रकारितामा क्रियाशील पत्रकार राई युरो नेपाल डटकम र इयु नेपाल डटकमका सम्पादक हुनुहुन्छ । स्नातकोत्तर अध्ययन गर्दैगर्दा विदेशिनुभएका पत्रकार राईले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।