प्रवास

माल्टामा रहेका नेपालीले राष्ट्रिय झन्डा फरफराउँदै मनाए ‘नेपाली डे’

माल्टा — युरोपेली मुलुक माल्टाको राजधानी भ्यालेटामा नयाँ वर्ष २०८२ सालको अवसरमा पारेर सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको छ ।

नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत गराएका थिए । 

नेपाली र माल्टाका नागरिक गरी करिब ४ हजार जनाको उपस्थिति रहेको कार्यक्रम ऐतिहासिक बनेको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले बताए ।

कार्यक्रममा तामाङ समाज, मगर समाज, नेवार समाज, राई समाज, पूर्वाञ्चल समाज, नेपाली सोसाइटी माल्टा लगायतले आफ्नो संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

यस्तै लोकदोहोरी सांस्कृतिक परिषद्को प्रस्तुतिका साथै एनएसएम ब्याण्ड र एनएमबि ब्यान्डले नेपालीपन झल्कने आफ्नो प्रस्तुति समेत देखाएको थियो । साथै इन्टरनेशल सेफ सोसाइटी माल्टाले पनि आफ्नो आफ्नो प्रस्तुति देखाएको थियो । 

करिब ४ हजार जनाको उपस्थिति रहेको कार्यक्रम ऐतिहासिक बनेपछि धेरैको ध्यान तानेको थियो । यस्तै नेपाली कला र संस्कृति झल्किने झाँकी प्रदर्शन, लाखे नाच प्रदर्शनले माल्टमै पनि ‘मिनि नेपाल’को झल्को दिएको देखिन्थ्यो ।

सोमबार साँझ ७ बजेसम्म चलेको कार्यक्रममा माल्टाका लागि पर्यटन दूत प्रकाश भण्डारी, एनआरएनए आईसीसी युरोप सेक्रेटरी भुवन अर्याल, हरि बीसी, सत्य झा, रोशन गिरीले कार्यक्रमको विषयमा धारणा समेत राखेका थिए ।

माल्टाका परराष्ट्र तथा पर्यटनका लागि स्थायी सचिव क्रिस्टोफर कुटाजार विशेष अतिथि रहेको कार्यक्रममा माउण्टेनियरिङ्ग एशोसिएशन माल्टाका अध्यक्ष साइमन एल्डेन, पहिलो माल्टाली माउण्ट एभरेष्ट आरोही, मार्को कार्मेनो, माउण्ट एभरेष्ट बेस क्याम्प भ्रमणकर्ता पिएरे फारुगियासहित स्थानीय विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू शेरोन रेलडिच, डाक्टर जोनाथन अबेला, डाक्टर कार्ल कोर्डिना, मार्गरेट बाल्डाचिनो, मारियो माम्बो, जो फ्लाजोन विशेष अतिथि रहेका थिए ।

निरोज श्रेष्ठ कार्यक्रम संयोजक र विजय परिवार उपसंयोजक रहेको नेपाली डे को विशेष समारोहको कार्यक्रम धनु लामाले सञ्चालन गरेका थिए । सहभागी अतिथिहरूलाई नेपाल झल्काउने मायाको चिनो प्रदान गरिएको थियो । 

माल्टा सरकारका परराष्ट्र तथा पर्यटन मन्त्रालयका सचिव क्रिस्टोफर कुटाजार, मानार्थ महावाणिज्यदूत जोनाथन अबेला, माउण्ट एभरेष्ट आरोही मार्को कारुआना लाई माल्टाका लागि नेपाली पर्यटन दूत प्रकाश भण्डारीले धन्यवाद समेत व्यक्त गरे ।

एनआरएनए माल्टाका अध्यक्ष खनालले छोटो तयारीका बिच गरिएको कार्यक्रम ऐतिहासिक बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमले माल्टा र नेपालबीचको सम्बन्ध सुधारमा थप सहयोग पुगेको विश्वास गरे ।

— रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *