Home Login
प्रवास

आयरल्याण्डमा नयाँ वर्ष २०८२ सालको शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न

आयरल्याण्ड — गैर आवासीय नेपाली संघ आयरल्याण्ड र बाग्लुङ समाज आयरल्याण्डको संयुक्त आयोजनामा सम्पन्न चैते दशैँ तथा नव वर्ष २०८२ शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत अप्रिल १४ तारिख नयाँ वर्षको दिन सम्पन्न भएको हो।

कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटा तथा बाग्लुङ समाज आयरल्याण्डका अध्यक्ष रामकृष्ण सापकोटा, पर्यटनदूत वसन्त न्यौपाने, पूर्व एनआरएनए पदाधिकारी शुक्रराज न्यौपाने, गणेश प्रसाई, नवराज कोइराला, राजन काफ्ले, विनोद कार्की, एनआरएनए युकेका उपाध्यक्ष लिला निउरे उपस्थित भएका थिए ।

पछिल्लो समय युवा पुस्ताका चर्चित गायक तथा स्टेज पर्फर्मर दुर्गेश थापा र गायिका शान्तिश्री परियारले उत्कृष्ट प्रस्तुतिहरू दिएका थिए । आयरल्याण्डमा बसोबास गर्ने नेपाली स– साना भाई बहिनीहरुले विविध नृत्य प्रस्तुत समेत गरेका थिए ।

डब्लिनको होटल रेडिसनमा आयोजित ६ घण्टा लामो चलेको कार्यक्रममा दुर्गेश थापाले आफ्नो विभिन्न चर्चित गीतहरु गाएका थिए । पछिल्लो समय युट्युबमा धेरै हेरेको गीत ‘दुश्मन हेरेको हेरै’ समेत उनले गाएका थिए । त्यस्तै गायिका शान्तिश्री परियारले थुप्रै चर्चित गीतहरू गएकी थिइन् ।

आयरल्याण्डमा रहेका दर्शकहरूसँग तस्बिर खिच्दै गायिका शान्तिश्री परियार ।

कार्यक्रममा कर्क समाजका अध्यक्ष लोकेश धामी, जनजाति सङ्घका अध्यक्ष ज्ञानसिंह पुन, काठमाडौँ इन्टरटेन्मेन्टका उज्ज्वल खड्का, तामाङ परिवार, झापाली समाज, लिम्बरिक समाजका उपाध्यक्ष र महासचिवको उपस्थिति रहेको थियो भने, मुकुन्द भुसाल र संगीता थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रमको अवसर पारेर प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका सक्रिय युवा साहित्यकार स्पन्दन विनोदका हालै प्रकाशित दुई शोक काव्य अविरल र भुवनेश्वरीको विमोचन समेत गरेका थिए ।

अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक आयरल्याण्ड पुगेका नेपालीहरूको उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाको अनुसार, उक्त कार्यक्रम अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट भएको बताए ।

Leave a Reply