पोर्चुगल — पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मंगलबार मनाएका छन् ।
नेवाः खल पोर्चुगलको आयोजनामा लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदानसहित नेवार समुदायहरुको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मनाएको हो ।
नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र पहिचानको सम्बद्र्धन, प्रवद्र्धन र जगेर्ना गर्ने उद्देश्य अनुरुप विदेशी भूमिमा समेत बिस्का जात्रा मनाएको नेवाः खलका संयोजक अमृतरत्न शाक्यले बताए ।
त्यस्तै, नेवारी कला र संस्कृतिको माध्यम मार्फत पोर्चुगलमा छरिएर रहेका नेवार समुदायलाई एकत्रित गर्न, आपसी मेलमिलाप, सहकार्य र भाइचारालाई थप प्रगाढ बनाउन बिस्का (बिस्केट) जात्राको आयोजना गरिएको शाक्यले बताए ।
कार्यक्रममा नेवारी धर्म र परम्परा अनुसार भैरवको विशेष पूजा आराधाना गरिएको थियो भने नेवारी संस्कार अनुसारको समयबजी, टीकाटाला, ध्वजा र सगुन ग्रहण तथा शुभकामना आदानप्रदानको कार्यक्रम गरी सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाली तथा नेवारी खानाका परिकारका साथमा नेवारी कला र संस्कृति झल्कने खालका साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको थियो । अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेवार समुदायहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका तस्बिरहरू डिजिटल लिस्बनका सुरेशले कैद गरेका थिए भने कार्यक्रममा युरोपाटीका सम्पादक पुस्तक रेग्मी समेत उपस्थिति भएका थिए ।