डेनमार्क — बेलाहोज क्लासिक एफसीको आयोजनामा 5A साइड सम्पन्न भएको खेलकुद प्रतियोगिता अन्नपूर्णा एफसीले जित हात पारेको छ । १८ टिम सहभागिता रहेको प्रतियोगिता अप्रिल २६ र २७ तारिख सम्पन्न भएको हो।
प्रतियोगितामा दुई टिम अन्नपूर्णा X र अन्नपूर्णा Y ले भाग लिएको थियो । जसमा अन्नपूर्णा X दुर्भाग्यवश सुरुवातमै प्रतियोगिताबाट बाहिरिन पुग्यो, तर अन्नपूर्णा Y ले हार नमानि संघर्ष जारी राख्यो ।
समूह चरणमा उपविजेता बन्दै अन्नपूर्णा Y अगाडि बढ्यो । त्यस्तै क्वार्टरफाइनलमा FC Rising लाई ३-० ले पराजित गर्दै अन्नपूर्णा Y बिस्तारै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा बलियो टिम मानिने Bellahøj Blue सँग भिड्दा, मुख्य खेलाडी प्रताप भट्ट घाइते भए पनि टिमले २-० को शानदार जित निकाल्न सफल भयो ।टोलीको संघर्ष र प्रतिबद्धता साँच्चिकै प्रशंसनीय रह्यो ।
फाइनलमा अन्नपूर्णा Y ले Bellahøj Red विरुद्ध मैदानमा उत्रिएको थियो । अन्तत : ४-१ को उत्कृष्ट जित हात पार्दै अन्नपूर्णा Y च्याम्पियन बन्न सफल भएको थियो ।
उक्त प्रतियोगितामा प्रताप भट्टलाई सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको थियो । उनले प्रत्येक खेलमा गोल गर्दै आफ्नो शानदार प्रदर्शन देखाएका थिए ।
सो प्रतियोगितामा कप्तान युगल घलेको नेतृत्व, सीप र आत्मबलले टिमलाई उपाधि दिलाउन ठूलो भूमिका खेलेको आयोजकले बताए । त्यस्तै सह–कप्तान सौरभ थापाले उत्कृष्ट डिफेन्स गर्दै टिमको आत्मबल उच्च राख्न महत्त्वपूर्ण योगदान गरेका थिए ।
गोलकिपर किसान गुरुङ, मिडफिल्ड कमल राज भुमि, अर्जुन थापा मगर, सुवम थापा, निश्चल प्रसाईले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
व्यवस्थापक सन्तोष भण्डारीले पनि निर्णायक क्षणहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भण्डारीले विभिन्न रणनीति अपनाई टिमलाई सफल बनाए ।