पोर्चुगल — पोर्चुगलस्थिति नेपाली राजदूतावासका पदाधिकारीहरुसंग यहाँस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावासको कार्यालय , लिस्बनको रेस्तेलोमा भेटघाट तथा छलफल गरी विभिन्न समस्या समाधानको विषयमा ध्यानाकर्षण गराएका छन् ।
बुधबार दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सेक्रेटरी अनील रानासंग संघसंस्थाका प्रतिनिधिहरुले भेटी पोर्चुगलको नेपाली समुदायको समसामयिक सवालमा ध्यानाकर्षण गराइएको उक्त भेटघाटको संयोजन गरेका नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगर जानकारी दिए ।
भेटघाट तथा छलफलमा प्रहरी रिपोर्ट लगायत विभिन्न डकुमेन्ट प्रमाणीकरणलाई सरलता तथा सहजता ल्याउने, एपोइन्टमेन्ट सिस्टमलाई अझ व्यवस्थित बनाउने, इमर्जेन्सी परेका सेवाग्राहीहरुलाई द्रुत सेवा जस्ता विषयमा सुझावहरु दिइएको थियो । उक्त अवसरमा नयाँ पासपोर्ट बनाउने र नवीकरण गर्ने सेवा पनि चाडै सुरु गर्न संघसंस्थाका प्रतिनिधिहरुले आग्रह गरेका थिए ।
दूतावासको तर्फबाट प्रवाह भैरहेको सेवा, अप्नाइएको प्रक्रिया र गरिएको प्रयासका बारेमा दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सेक्रेटरी अनील रानाले जानकारी दिएका थिए । सेवा प्रवाहलाई अझै सहज एवं व्यवस्थित बनाउन र सही सूचना समुदायमा प्रवाह गरी सहयोग पुर्याउन दूतावासको तर्फबाट संघसंस्थाका प्रतिनिधिहरुलाई आग्रह गरिएको थियो ।
भेटघाटमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगर, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, आइसीसी सदस्य तथा नेप्लीज वुमन एसोसिएसनका अध्यक्ष शान्ति अर्याल अधिकारी, एनआरएनए पोर्चुगलका संरक्षक यमेन्द्र घर्ती, प्रवासी नेपाली मंचका अध्यक्ष दीपक खत्री, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष सीता ढकाल सुवेदी, शेर्पा किदुक पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा लगायत समुदायका अगुवाहरुको सहभागिता थियो ।