युरोपाटी सम्वाददाता ।
लिस्बन — पोर्चुगलमा आप्रवासी हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको अग्रणी संस्था नियाल्प पोर्चुगलले स्वास्थ्य, शिक्षा, बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन लगायत विभिन्न कानुनी प्रक्रियाको बारेमा नि:शुल्क सेवा दिने भएको छ ।
बुधबार नियाल्प पोर्चुगलले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो ।
‘आजबाट पोर्चुगलमा कानुनी रुपमा बसोवास गरिरहेका आप्रवासीहरूको सहयोगको लागि AIMA (एकीकरण, बसाइँसराइ र शरणार्थी एजेन्सी) को प्रत्यक्ष सहयोगमा ‘एक कदम’ परियोजना मार्फत विभिन्न सेवाहरू नि:शुल्क उपलब्ध गराउने भएको हो’, नियाल्पले भने ।
त्यस्तै, नियाल्पले उपलब्ध गराउने सेवाहरूमध्ये जसमा, सार्वजनिक स्वास्थ्य सेवाको जानकारी, सार्वजनिक शिक्षाको जानकारी, कानुनी प्रक्रिया (बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन) को जानकारी, अन्य सामाजिक तथा सार्वजनिक सेवा सम्बन्धि जानकारी रहेको हो । उक्त उपलब्ध गराउने सेवाहरू नियाल्पले प्रकाशित गरेको सूचनामा समेत उल्लेख गरेको छ ।
सोमबार देखि शुक्रबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म र शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजे उक्त सेवा उपलब्ध गराउने भएको हो । युरोपको पोर्चुगल पुगेका आप्रवासीहरूलाई उक्त सेवा लिनको लागि नियाल्पले आग्रह समेत गरेको छ ।