पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा मे १८ तारिख आइतबार पोर्चुगलको संसदका लागि भएको आम निर्वाचनमा २३० सीट मध्ये पोर्चुगल भित्रको २२६ सीटको साढे तीन घण्टाभित्र सम्पूर्ण परिणाम आएको छ ।
त्यस्तै अब बाँकी विदेशमा भएका पोर्चुगिस नागरिकका लागि छुट्याइएको ४ सीटको मात्र रिजल्ट आउन बाँकी छ, जसका लागि केही दिनहरु लाग्नेछ ।
२२६ सीटमा वर्तमान प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नेतृत्व गरेको गठबन्धन AD ले ८६ सीट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । उसले खसेको मतको ३२.१० प्रतिशत मत प्राप्त गरेको छ ।
यसैगरी, पेद्रो नुनो सान्तोसको सोसलिस्ट पार्टी PS ले ५८ सीट मात्र जितेर अघिल्लो निर्वाचन भन्दा २० सीट कम जितेर ठूलो पराजय भोगेको छ । PS ले जम्मा २३.३८ प्रतिशत मत मात्र पाएको छ ।
यसैगरी अति दक्षिणपन्थी पार्टीले आश्चर्यजनक प्रगति गर्दै ५८ सीट जितेको छ । उसले २२.५६ प्रतिशत मत पाएको हो ।
यो देशको पछिल्लो साढे तीन वर्षमा तेस्रो संसदीय चुनाव हो । राष्ट्रपति मार्सेलो रेबेलो डि साउसाले गत मार्च १३ मा संसद विघटन गरेर यो निर्वाचन घोषणा गरेका थिए। मार्च ११ मा प्रधानमन्त्री लुइस मोंटेनेग्रो नेतृत्वको सरकारले संसदमा विश्वासको मत गुमाएपछि यो अवस्था आएको हो ।
यो चुनावमा पोर्चुगलको २३० सिटको संसद (एसेम्ब्ली अफ द रिपब्लिक) का लागि १९ वटा राजनीतिक पार्टी र गठबन्धनले प्रतिस्पर्धा गरिरहेका थिए ।