भियना, अष्ट्रिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय महाधिवेशन शनिवार, जुलाई १९, २०२५ मा आयोजना हुने भएको छ । एनआरएनए अष्ट्रिया विशेष बैठकद्वारा मे १९, २०२५ को साँझ ७ बजे भर्चुअल माध्यममार्फत सम्पन्न बैठकले महाधिवेशन तथा सदस्यता सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो ।
संघको सचिवालयबाट आएको परिपत्र अनुसार, एनसीसीहरूले अन्तर्राष्ट्रिय महाधिवेशन वर्षमा जुलाई १ देखि ३१ भित्र अनिवार्य रूपमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु पर्ने संवैधानिक व्यवस्था अनुरूप अष्ट्रियाले पनि मिति तय गरेको जनाएको छ ।
विशेष बैठकले लिएको निर्णय अनुसार :
१. स्मार्ट एनआरएनए एप मार्फत सदस्यता प्राप्त गर्नुपर्ने अन्तिम मिति जुन २८, २०२५ राति २३:५९ बजे सम्म तोकिएको छ।
२. आगामी कार्यकालको निर्वाचन जुलाई १९, २०२५ मा सम्पन्न गरिनेछ।
३. निर्वाचन सम्बन्धी थप सूचना र नियमावली छिट्टै सार्वजनिक गरिनेछ।
यस कार्यको संयोजनमा सदस्य प्रमाणिकरण समितिका सदस्यद्वय दीपेन्द्र हिमालय कार्की (संस्थापक आइसीसी सदस्य) र विनोद चौलागाईं (पूर्व अध्यक्ष, वर्तमान मानार्थ आइसीसी सदस्य) को सक्रिय भूमिका रहेको छ ।
यस सन्दर्भमा संघको क्यालेन्डरमा एनसीसीहरूबाट राष्ट्रिय महाधिवेशनको मिति समयमै पठाउनु पर्ने भन्दै, गैरआवासीय नेपाली संघको सचिवालयले सबै एनसीसीहरूलाई आवश्यक समन्वय र समयमै प्रक्रिया पूरा गर्न अनुरोध पनि गरेको छ ।