पोर्चुगल — अमेरिकाले आफ्नो ‘भिसा छुट कार्यक्रम’ (भीडब्लुपी) लाई निरन्तरता दिएको छ। त्यस कार्यक्रम अन्तर्गत विभिन्न ४१ वटा देशका नागरिकहरुलाई ९० दिनसम्मको पर्यटन वा व्यावसायिक भ्रमणका लागि भिसामुक्त प्रवेशको सुविधा हुनेछ ।
उक्त कार्यक्रम अन्तर्गत धेरै युरोपेली मुलुकहरु समेटिए पनि भारत भने परेको छैन । यो कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय यात्रा प्रक्रियालाई सुव्यवस्थित गर्दै कूटनीतिक सम्बन्धलाई बलियो बनाउने जनाइएको छ ।
कार्यक्रमले यात्रुहरुलाई परम्परागत भिसाको साटो ‘इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेसन’ (इएसटीए) स्वीकृति प्राप्त गर्न आवश्यक हुनेछ ।
‘युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले विदेश विभागसँगको सहकार्यमा भिसा छुट कार्यक्रमको व्यवस्थपन गर्छ ।
यो पहलले अमेरिका र साझेदार मुलुकहरु बीचको छोटो अवधि यात्राका लागि कडा सुरक्षा प्रोटोकलहरु कायम राख्दै प्रवेश प्रक्रियामा सरलीकरण गर्ने जनाइएको छ ।
यो कार्यक्रमअन्तर्गत सुविधा पाउने अन्य देशका नागरिकहरुले जस्तै अमेरिकीहरुले पनि समान अवधिका लागि सम्बन्धित मुलुकको भ्रमण गर्दा उस्तै अधिकार र सुविधा प्राप्त गर्नेछन् ।
यस्तो सुविधा पाउने मुलुकहरुमा ब्रिटेन, अस्ट्रिया, बेल्जियम, क्रोएसिया, चेक गणतन्त्र, डेनमार्क, स्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस छन्। यसैगरी, हंगेरी, आइसल्याण्ड, आयरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, इटाली, लाटभिया, लिथुवानिया, लक्जेम्बर्ग, माल्टा, मोनाको, नेदरल्याण्डस्, नर्वे, सान मारिनो, स्लोभाकिया, स्पेन, स्वीडेन र स्विजरल्याण्ड लगायत छन् ।
यस्तै, एसिया प्यासिफिक क्षेत्रका अस्ट्रेलिया, जापान, न्युजिल्याण्ड, द रिपब्लिक अफ कोरिया, सिंगापुर, ताइवान र ब्रुनाइ यो सुविका पाउनेमा परेका छन्।
मध्यपूर्वी देशहरुमा इजराइल र कतार छन् भने थपमा अन्डोरा र चिली परेका छन् । भारत भिसा छुट कार्यक्रममा परेको छैन । त्यसैले भारतीय नागरिकहरुले अमेरिका भ्रमणमा आउँदा परम्परागत भिसा आवेदन प्रक्रियाहरु अवलम्बन गर्नु आवश्यक छ ।
भारतीय यात्रुहरुले अमेरिकी वाणिज्य दूतावास वा दूतावासहरु मार्फत् ‘बी१’ (व्यवसाय) वा ‘बी२’ (पर्यटक) भिसाका लागि आवेदन दिनुपर्छ ।
भारत यसमा नसमेटिनुमा पारस्परिक आवश्यकता, आप्रवासन पक्ष, सुरक्षासम्बन्धी कुराका साथै द्विपक्षीय नीति मूल्यांकनहरु सहितका कारण हुन सक्ने मानिएको छ ।
उल्लेखित सुविधा पाउने देशहरुबाट राहदानी लिएका यात्रुहरुलाई पनि केही सर्तहरु लागू हुने जनाइएको छ । इरान, उत्तर कोरिया वा क्युबाको हालैको ‘ट्राभल हिस्ट्री’ (२०२१ जनवरी १२ वा त्यसपछि) को छ भने यो कार्यक्रमका लागि अयोग्य हुन सक्छन् ।
यसैगरी, दोहोरो नागरिकताले पनि यो सुविधा पाउनेमा असर गर्न सक्ने जनाइएको छ । किनभने इरान, इराक, सिरिया, सुडान, क्युबा वा उत्तर कोरिया जस्ता मुलुकहरुबाट दोहोरो नागरिकता गरेकाहरुले उक्त कार्यक्रमअन्तर्गतको सुविधा पाउँदैनन् । उनीहरुले सम्बन्धित प्रक्रिया अपनाउँदै ‘बी१’ वा ‘बी२’ भिसा लिनुपर्छ ।