पोर्चुगल (लिस्बन) — पछिल्लो केही दिनदेखि युरोपका विभिन्न देशहरू तातो हावाको लहर (Heatwave) को चपेटामा परेका छन् । स्पेन, पोर्चुगल, फ्रान्स, इटाली र ग्रीस लगायतका दक्षिणी युरोपेली मुलुकहरूमा तापक्रम अस्वाभाविक रूपमा बढेको छ, जसले जनजीवन प्रभावित बनाएको छ ।
स्पेन : स्पेनमा यो वर्षको गर्मीको पहिलो लहर निकै शक्तिशाली देखिएको छ । देशका दक्षिणी र मध्य भागहरूमा तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ। राजधानी म्याड्रिडमा (शनिबार, जुलाई ५) को तापक्रम ३४ डिग्री सेल्सियसको हाराहारीमा छ भने सेभिया, कोर्डोबा जस्ता दक्षिणी शहरहरूमा तापक्रम ३५ डिग्री नाघेको छ ।
स्पेनको मौसम विभाग (Aemet) का अनुसार, जुन महिना स्पेनको इतिहासमै सबैभन्दा गर्मी महिनाको रूपमा रेकर्ड भएको छ । गर्मीका कारण मानिसहरूलाई दिउँसोको समयमा घरबाहिर ननिस्कन र प्रशस्त पानी पिउन सल्लाह दिइएको छ ।
पोर्चुगल : छिमेकी मुलुक पोर्चुगलको अवस्था पनि उस्तै छ । पोर्चुगलले जुन महिनामा दुईवटा गर्मीको लहर बेहोरेको छ । जुन २९ मा मोरा भन्ने शहरमा तापक्रम ४६.६ डिग्री सेल्सियस पुगेको थियो, जुन पोर्चुगलको जुन महिनाको लागि हालसम्मकै उच्च रेकर्ड हो । राजधानी लिस्बन र अन्य शहरहरूमा पनि तापक्रम ३५ देखि ४० डिग्री सेल्सियसको बीचमा रहेको छ । गर्मीका कारण वृद्धवृद्धा र बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
फ्रान्स : फ्रान्सले पनि यो साताको सुरुवातमा चर्को गर्मीको सामना गर्नु पर्यो । राजधानी पेरिसमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेपछि प्रसिद्ध आइफिल टावरको माथिल्लो तला आगन्तुकहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द गरिएको थियो । देशका विभिन्न १६ वटा विभागमा “रेड अलर्ट” नै जारी गरिएको थियो । हाल तापक्रम केही घटेको भए पनि औसतभन्दा बढी नै छ ।
यो गर्मी कहिलेसम्म रहन्छ ?
मौसमविद्हरूका अनुसार, यो चर्को गर्मीको लहर तत्कालै अन्त्य हुने देखिँदैन । यद्यपि, केही दिनमा तापक्रममा थोरै गिरावट आउने सम्भावना भए पनि समग्रमा जुलाई र अगस्ट महिनाभरि नै युरोपको मौसम औसतभन्दा गर्मी रहने पूर्वानुमान गरिएको छ ।
जलवायु परिवर्तनका कारण यस्ता अत्यधिक गर्मीका लहरहरू अब सामान्य बन्दै गएको र भविष्यमा अझै लगातार र शक्तिशाली हुँदै जाने विज्ञहरूले चेतावनी दिएका छन् । यो गर्मीको लहर उत्तर अफ्रिकाबाट आएको तातो हावाको कारणले सिर्जना भएको हो । अधिकारीहरूले डढेलोको जोखिम पनि बढेको भन्दै उच्च सतर्कता अपनाएका छन् ।