पोर्चुगल — म्याग्दी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, सेम्लार रतनपुरमा स्थायी बसोबास गर्दै आउनुभएका र विगत १० वर्षदेखि पोर्चुगलमा कार्यरत ४१ वर्षीय काशीराम बुढाथोकी (गोरे) मगरको असामयिक निधन भएको छ । उहाँको शुक्रबार, ०१ अगस्ट २०२५ का दिन लिस्बनस्थित करी कब्राल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
स्वर्गीय बुढाथोकी आफ्ना बुवा सक बहादुर बुढाथोकी मगर, आमा धनसरी बुढाथोकी मगरका सुपुत्र तथा श्रीमती भबिसरा गुरुङ बुढाथोकीका श्रीमान् हुनुहुन्थ्यो ।
रोजगारीको सिलसिलामा एक दशकअघि पोर्चुगल आउनुभएका उहाँ यहाँको नेपाली समुदायमा एक मिहिनेती र मिलनसार व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो ।
उहाँको निधनको खबरले पोर्चुगलमा रहेको नेपाली समुदाय, विशेषगरी उहाँका इष्टमित्र तथा सहकर्मीहरू स्तब्ध र मर्माहित भएका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, असीम वेदनाको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
परिवारजन तथा आफन्तहरूले दिएको जानकारी अनुसार, स्वर्गीय बुढाथोकी मगरको अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार कार्यक्रम यही आउँदो मंगलबार, ०५ अगस्ट २०२५ का दिन लिस्बनमा तपशील बमोजिम आयोजना गरिने भएको छ । शोकको यस घडीमा दिवंगत आत्माप्रति अन्तिम श्रद्धा अर्पण गर्न पोर्चुगलमा रहनुभएका सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, संघसंस्थाका प्रतिनिधि एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।
अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार कार्यक्रमको विवरण :
१. श्रद्धाञ्जली कार्यक्रम :
मिति : ०५ अगस्ट २०२५, मंगलबार
समय : बिहान १० : ३० बजे
स्थान : Hospital de São José, Martim Moniz (Funerária Capuchos)
२. दाहसंस्कार कार्यक्रम :
समय : दिउँसो १ : ०० बजे
स्थान : Cemitério de Camarate
ठेगाना : Largo do Cemitério, 2685-000, Camarate, Lisboa