Home Login
गैरआवासीय नेपाली संघ

सडकबाट स्वदेशसम्म : गैरआवासीय नेपाली संघ पोर्चुगलको मानवीय पहल

पोर्चुगल — लिस्बनको सडकमा लामो समयदेखि जीवन गुजारिरहेका एक नेपाली नागरिकको गैरआवासीय नेपाली संघ, पोर्चुगलको सक्रिय पहलमा उचित व्यवस्थापनसहित उद्दार गरी आज स्वदेश फिर्ता गरिएको छ ।

झापा जिल्ला निवासी श्री कट्टेल (नाम गोप्य) वैदेशिक रोजगारीको आशमा पोर्चुगल आएका थिए । तर, विभिन्न पारिवारिक र व्यक्तिगत समस्याका कारण उहाँको जीवन असहज बन्दै गयो । कामको अवसर नपाई, सहयोगको अभावमा उहाँ लिस्बन सहरको सडकमा बस्न बाध्य हुनुभएको थियो ।

उहाँको अवस्थाबारे जानकारी पाएलगत्तै गैरआवासीय नेपाली संघ, पोर्चुगलले तात्कालिक रूपमा सम्बन्धित परिवारसँग समन्वय गर्दै उद्धार प्रक्रिया अघि बढाएको हो । संघले उहाँको सम्पूर्ण व्यवस्थापन गर्दै , सुरक्षित आवास, नियमित खानपान, लत्ताकपडा, स्वास्थ्य परीक्षण, मानसिक सल्लाह, कागजात तयार गर्ने काम तथा नेपाल फर्कनका लागि हवाइ टिकटको समेत व्यवस्था गरेको हो ।

( तस्बिरमा : झापा निवासी श्री कट्टेलको अनुहार ढाकेको छ । व्यक्तिको अनुरोधमा उक्त अनुहार ढाकिएको हो ।)

यस्तै, गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष बम बहादुर जि.सी. ले यसबारे प्रतिक्रिया दिँदै भन्नुभयो, “कुनै पनि नेपाली विदेशको भूमिमा बिचल्लीमा पर्नु हाम्रो साझा पीडा हो । यस्तो अवस्थामा तत्काल सहकार्य र संवेदनशीलता जरुरी हुन्छ। यो उद्धार मानवीय सेवाको प्रतीक हो, जसमा हामी सबैको साझा योगदान रह्यो ।”

उक्त उद्धार अभियान सफल बनाउन सहयोग पुर्‍याउनुहुने स्थानीय नेपाली व्यवसायीहरू, सामाजिक अभियन्ताहरू, सरोकारवाला निकायहरू, र संघका पदाधिकारी तथा सदस्यहरूलाई गैरआवासीय नेपाली संघ, पोर्चुगलले हार्दिक धन्यवाद प्रकट गरेको छ ।

संघले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई आवश्यक सहयोग पुर्‍याउने कार्यमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply