पोर्चुगल — पोर्चुगलका प्रमुख विमानस्थलहरूमा ग्राउन्ड ह्यान्डलिंग कर्मचारीहरूले गरेको हडतालका कारण यो सप्ताहन्त र अगस्ट महिनाभरि यात्रा गर्ने यात्रुहरूले उडानमा ढिलाइ र सम्भावित रद्दको सामना गर्नुपर्ने भएको छ । तलब वृद्धि र राम्रो काम गर्ने वातावरणको माग गर्दै कर्मचारीहरूले श्रृंखलाबद्ध रूपमा सप्ताहन्तमा हडतालको घोषणा गरेका हुन् ।
हडतालको आयोजना मेटलर्जिकल इन्डस्ट्रिज एण्ड एलाइड इन्डस्ट्रिज युनियन (SIMA) ले गरेको हो र यसले SPdH/Menzies (पहिलेको ग्राउन्डफोर्स) का ग्राउन्ड स्टाफलाई प्रतिनिधित्व गर्दछ । यो हडताल पोर्चुगलका लिस्बन, पोर्टो, फारो, र मडेइरा तथा अजोरेसका टापुहरू लगायत सबै प्रमुख विमानस्थलहरूमा प्रभावकारी हुनेछ ।
यो हडताल पाँच सप्ताहन्तसम्म चल्नेछ । पहिलो हडताल जुलाई २५ देखि २८ सम्म भएको थियो भने आगामी हडतालहरू निम्न मितिहरूमा तय गरिएका छन् :
अगस्ट ८ देखि ११, अगस्ट १५ देखि १८, अगस्ट २२ देखि २५ र अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म रहेको छ । प्रत्येक हडताल शुक्रबार मध्यरातबाट सुरु भई सोमबार मध्यरातसम्म चल्नेछ ।
हडतालका मुख्य कारणहरूमा कर्मचारीहरूले विभिन्न मागहरू राखेका छन् । राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम रहेको आधारभूत तलबको अन्त्य, तलब वृद्धि र रात्रिकालीन कामको भुक्तानी, कर्मचारी पार्किङमा सहज पहुँच, ग्राउन्डफोर्सबाट मेन्जिज एभिएसनमा हस्तान्तरण हुँदा हस्ताक्षर गरिएको सम्झौताको कार्यान्वयन, जसमा सन् २०२६ सम्म तलब वृद्धि र बाँकी रहेको क्षतिपूर्ति भुक्तानीको वाचा गरिएको थियो ।
हडतालका कारण विमानस्थलका विभिन्न सेवाहरूमा असर पर्ने देखिएको छ, जसमा : चेक-इन र सुरक्षा जाँचमा लामो लाइन, सामान ह्यान्डलिङमा ढिलाइ, जसका कारण यात्रुहरूले आफ्नो लगेज पाउन लामो समय कुर्नुपर्ने हुन सक्छ, उडानहरूमा ढिलाइ वा रद्द ।
जुलाईमा भएको पहिलो सप्ताहन्तको हडतालले लिस्बन विमानस्थलमा मात्रै दर्जनौं उडानहरू रद्द भएका थिए । गर्मीको छुट्टीको यो व्यस्त समयमा हडताल हुँदा हजारौं यात्रुहरू प्रभावित हुने अनुमान गरिएको छ ।
सम्बन्धित निकायको सुझाव !
विमानस्थल व्यवस्थापन र एयरलाइन्सहरूले यात्रुहरूलाई यात्रा गर्नुअघि आफ्नो उडानको स्थितिबारे निरन्तर जानकारी लिन अनुरोध गरेका छन् । सकेसम्म हातैमा बोक्न मिल्ने झोला (ह्यान्ड लगेज) मात्र लिएर यात्रा गर्न र विमानस्थलमा अतिरिक्त समय लिएर आउन पनि सुझाव दिइएको छ ।
आपतकालीन उडानहरू, सैन्य र राज्यका उडानहरू, तथा केही निश्चित टापुहरूका लागि अत्यावश्यक उडानहरूमा भने न्यूनतम सेवाहरू सञ्चालन हुने बताइएको छ । यद्यपि, समग्रमा हवाई यातायातमा उल्लेखनीय अवरोध हुने निश्चित छ ।