Home Login
पोर्चुगल

पोर्चुगलमा डढेलोको उच्च जोखिम : सरकारले सतर्कताको अवस्था अगस्ट १३ सम्म बढायो

पोर्चुगल (लिस्बन) — पोर्चुगल सरकारले देशभर डढेलोको जोखिम उच्च रहेको भन्दै सतर्कताको अवस्था लाई आउँदो अगस्ट १३ सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । बढ्दो तापक्रम र सुख्खा मौसमका कारण डढेलो फैलन सक्ने खतरालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । आन्तरिक प्रशासन मन्त्रीले बिहीबार मन्त्रिपरिषद्को बैठकपछि यो घोषणा गर्नुभएको हो ।

यो निर्णय मुख्यतया तीनवटा कारणमा आधारित छ :

१. उच्च तापक्रम : आगामी दिनहरूमा तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ, जसले ग्रामीण क्षेत्रमा डढेलोको जोखिमलाई निकै बढाएको छ । लामो समयसम्म चल्ने गर्मीको लहरले भूमिलाई सुख्खा बनाउँछ र सानो झिल्को पनि विनाशकारी आगलागीमा परिणत हुन सक्छ ।

२. प्रतिबन्धको सकारात्मक प्रभाव : हाल जारी सतर्कताको अवस्था र लगाइएका प्रतिबन्धहरूले आगलागीका घटनामा कमी ल्याउन सफल भएको सरकारी विश्लेषण छ । यही सफलतालाई निरन्तरता दिन प्रतिबन्धहरूलाई कायम राख्न आवश्यक ठानिएको हो ।

३. परिचालन क्षमता कायम राख्ने : डढेलो नियन्त्रणका लागि हजारौं अग्नी नियन्त्रक, सुरक्षाकर्मी र अन्य स्रोतसाधनलाई उच्च सतर्कतामा राख्न र आवश्यक परेको खण्डमा तुरुन्तै परिचालन गर्न यो अवस्थालाई निरन्तरता दिनु जरुरी छ ।

सतर्कताको अवस्था जारी रहँदा विभिन्न कार्यहरूमा प्रतिबन्ध लगाइएको छ । जसमध्य : वन तथा ग्रामीण क्षेत्रमा मेसिनरी उपकरणहरूको प्रयोग गरी काम गर्न निषेध गरिएको छ । पटाका, आतिशबाजी वा अन्य कुनै पनि प्रकारका pyrotechnic उपकरणहरू प्रयोग गर्न पूर्ण रूप-मा प्रतिबन्धित छ । यसअघि दिइएका अनुमतिहरू पनि रद्द गरिएका छन् । कृषि तथा वनजन्य अवशेषहरू जलाउन (queimadas) कडा रूपमा मनाही गरिएको छ । ग्रामीण र वन क्षेत्रहरूमा अनावश्यक आवतजावत र बसाइमा पनि कडाइ गरिएको छ ।

सरकारले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि जोखिमपूर्ण गतिविधि नगर्न अपिल गरेको छ । मन्त्रीले भन्नुभयो, “हामी सबैको सामूहिक जिम्मेवारीले मात्र यो संकटलाई टार्न सकिन्छ । प्रत्येक नागरिकको व्यवहारले डढेलोको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।”

जोखिमको गम्भीरतालाई ध्यानमा राख्दै, सरकारले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । पोर्चुगिज वायुसेनालाई डढेलो नियन्त्रणका लागि प्रयोग हुने दुईवटा C-130 विमानका लागि आवश्यक अग्निनियन्त्रक प्रणाली खरिद गर्न १६ मिलियन युरोको बजेट स्वीकृत गरिएको छ ।

डढेलो लगाउने जस्ता आपराधिक कार्यहरूका लागि विद्यमान कानुनलाई अझ कडा बनाउने र दण्ड सजाय बढाउनेबारे नीतिगत समीक्षा गरिने भएको छ ।

हाल पोर्चुगलको मौसम विभागले देशका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । यो गर्मीको लहरले डढेलोको जोखिमलाई थप जटिल बनाएको छ। नागरिक सुरक्षा प्राधिकरण (Civil Protection Authority) ले पनि आफ्ना सबै संयन्त्रलाई तयारी अवस्थामा राखेको छ ।

Leave a Reply