पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले अगस्ट ८ तारिख शुक्रबार एक भेटघाट, स्वागत तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । समितिकी सभापति दिपा काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनएका विभिन्न तहका पदाधिकारी तथा पोर्चुगलमा रहेका नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार नारायण सुवेदीले आफ्नो मन्तव्यका क्रममा विश्वभरका गैरआवासीय नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वस्तुगत यथार्थमा विभिन्न देशमा समानान्तर समितिहरु बन्दै जानु र दुर्नियतपूर्ण तरिकाले राष्ट्रिय समितिहरुमा विभाजन आउनु चिन्ताको विषय भएको बताउनुभयो ।
सुवेदीले हालै परराष्ट्र मन्त्रालयले पठाएको पत्रले महेश श्रेष्ठले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् नै आधिकारिक भएको स्पष्ट पारेको जानकारी गराउनुभयो ।
त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व सल्लाहकार स्वामी आनन्ददेव तथा विशेष अतिथि, आइसिसी सदस्य राजकुमार गुरुङले पनि आफ्नो मन्तव्य राख्दै सङ्घको एकता र पोर्चुगलमा रहेका नेपालीहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय उपप्रमुख माधव पोखरेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्षहरु प्रेम बुढापृथी, नृपेश गिरी, उपाध्यक्ष एवं प्रवक्ता गणेश गुरुङ, महासचिव गोविन्द बुढाथोकी, कोषाध्यक्ष अशोक जोशी, सचिव पुष्कर राज जोशी तथा युवा संयोजक पेम्बा शेर्पा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति दिपा काफ्लेले आफ्नो कार्यकालमा पोर्चुगलमा रहेका नेपाली समुदायको हकहित, सहयोग र सद्भावका लागि सधैँ कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपस्थित सबैलाई धन्यवाद दिँदै उहाँले कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन समितिका महासचिव गोविन्द बुढाथोकीले गर्नुभएको थियो ।