टोरन्टो, क्यानाडा — क्यानाडामा बसोबास गर्ने नेपाली समुदायलाई मनोरञ्जनको एक खुराक पस्कने उद्देश्यले ‘अब हाँस्छ क्यानाडा’ नामक एक विशेष हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना हुने भएको छ । नेपालका तीन चर्चित हास्य कलाकारहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएका छन् ।
आँगन इभेन्ट्स इन्क र आइ र यू इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम क्यानाडाका तीन प्रमुख सहरहरू मिसिसागा, क्याल्गरी र एडमन्टनमा प्रस्तुत गरिनेछ । कार्यक्रममा नेपालका लोकप्रिय हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले आफ्नो बेजोड प्रस्तुति दिनेछन् । समसामयिक विषयवस्तु, सामाजिक विकृति र मानवीय संवेदनालाई आफ्नो हास्यव्यङ्ग्यको मुख्य विषय बनाउने यी तीनै जना कलाकार नेपालको स्ट्यान्ड-अप कमेडी क्षेत्रमा स्थापित नाम हुन् ।
आगन इभेन्ट्स इन्कका प्रबन्ध निर्देशक जीआर भण्डारीका अनुसार, कार्यक्रमलाई स्थानीय स्तरमा थप प्रभावकारी बनाउन अन्य संस्थाहरूसँग पनि सहकार्य गरिएको छ । जसअनुसार, क्याल्गरीमा एमजीपी इन्टरटेनमेन्ट र एडमन्टनमा गन्तव्य नामक संस्थाले सह-आयोजकको भूमिका निर्वाह गर्नेछन् ।
कार्यक्रमको पहिलो शो आगामी अगस्ट ३० तारिख, शुक्रबारका दिन मिसिसागाको एनापिलिस क्रिश्चियन कम्युनिटी सेन्टरमा साँझ ७ बजेदेखि सुरु हुनेछ । दर्शकका लागि टिकटको मूल्य पनि निर्धारण गरिएको छ । अनलाइनमार्फत अग्रिम टिकट खरिद गर्नेका लागि ४० क्यानेडियन डलर र कार्यक्रम स्थलमै टिकट खरिद गर्नेका लागि ५० डलर शुल्क तोकिएको आयोजकले जानकारी दिएका छन् ।
विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र कलालाई माया गर्ने नेपालीहरूका लागि यो कार्यक्रम एक अविस्मरणीय अवसर हुने विश्वास लिइएको छ । “यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र होइन, यसले क्यानाडामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराउने र नेपालको मौलिक कला तथा संस्कृतिलाई प्रवर्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो,” प्रबन्ध निर्देशक भण्डारीले भने ।
कलाकारत्रय पौडेल, सुमन कार्की र कैलाश कार्कीको प्रस्तुतिले क्यानाडाको व्यस्त जीवनशैलीमा रहेका नेपालीहरूलाई तनावमुक्त बनाउँदै भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकको दाबी छ । कार्यक्रमको सफलताका लागि आयोजकहरूले प्रचारप्रसार लगायत अन्य व्यवस्थापकीय कार्यहरूलाई तीव्रता दिएका छन् ।