पोर्चुगल (लिस्बन) — पोर्चुगिज प्राइमइरा लिगको दोस्रो चरणको खेलमा डिफेन्डिङ च्याम्पियन स्पोर्टिङ सीपीले घरेलु मैदानमा अरोकामाथि ६-० को सानदार जित दर्ता गरेको छ । यो प्रभावशाली जितसँगै स्पोर्टिङले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा स्पोर्टिङले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । टोलीको जितमा रिकार्डो माङ्गास, लुइस सुआरेज र फ्रान्सिस्को त्रिन्काओले दुई-दुई गोल गरे ।
खेलको २० औं मिनेटमा रिकार्डो माङ्गासले गोल गर्दै स्पोर्टिङलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा अरोकाका खेलाडी डिलन नान्दिनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो, जसको फाइदा स्पोर्टिङले उठायो । ३१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई लुइस सुआरेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा त्रिन्काओले गोल गरेपछि स्पोर्टिङले ३-० को आरामदायी अग्रता लिएको थियो ।
दोस्रो हाफमा पनि स्पोर्टिङले आफ्नो लय कायमै राख्यो । ५० औं मिनेटमा माङ्गासले व्यक्तिगत दोस्रो गोल गरे भने ६२ औं मिनेटमा सुआरेजले पनि आफ्नो दोस्रो गोल थपे । खेलको ७६ औं मिनेटमा त्रिन्काओले थप एक गोल गर्दै स्पोर्टिङको ६-० को फराकिलो जित सुनिश्चित गरे ।
लगातार दुई खेलमा अपराजित रहँदै ६ अंक बटुलेको स्पोर्टिङले लिगमा आफ्नो उपाधि रक्षा अभियानको बलियो सुरुवात गरेको छ ।