Home Login
संघ-संस्था

कुलमान घिसिङ अगस्ट २३ तारिख पोर्चुगल आउँदै

पोर्चुगल (लिस्बन) । ‘उज्यालो नेपाल’ का नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पोर्चुगलको राजधानी लिस्बनमा भव्य नागरिक अभिनन्दन गरिने भएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने उक्त कार्यक्रम यही अगस्ट २३, शनिबारका दिन दिउँसो १२ बजे तय गरिएको छ ।

आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई यस विशेष कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ । विज्ञप्तिमा भनिएको छ, “पोर्चुगलवासी नेपाली आमा, बुबा, दिदीबहिनी, दाजुभाई लगायत बुद्धिजीवी, व्यावसायिक, श्रमजीवी, पत्रकार, राजनीतिज्ञ तथा विभिन्न संघ संस्थामा आबद्ध संस्थाका प्रतिनिधिहरु सम्पूर्णलाई ‘उज्यालो नेपाल’ का नायक कुलमान घिसिङको ‘नागरिक अभिनन्दन’ कार्यक्रममा गरिमामयी उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।”

नेपाललाई लोडसेडिङको अँध्यारो युगबाट मुक्त गराउन नेतृत्वदायी भूमिका खेलेका घिसिङ नेपाली जनतामाझ एक लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छन् । उनको कुशल व्यवस्थापन र दृढ संकल्पका कारण देशले ऊर्जा क्षेत्रमा कायापलट गर्न सफल भएको थियो । सोही योगदानको कदर गर्दै पोर्चुगलमा रहेका नेपालीहरूले उहाँप्रति सम्मान व्यक्त गर्न यो कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रम लिस्बनको प्रतिष्ठित Hotel HF Fenix मा हुनेछ, जसको ठेगाना Pç do Marquês de Pombal 8, 1269-133 Lisboa रहेको छ । आयोजकले कार्यक्रम ठिक १२ बजे सुरु हुने जानकारी दिएका छन् ।

यो नागरिक अभिनन्दन कार्यक्रमले पोर्चुगलमा रहेका विभिन्न क्षेत्रका नेपालीहरूलाई एकै ठाउँमा भेला हुने र राष्ट्रिय गौरवका एक व्यक्तित्वसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । कार्यक्रममा घिसिङले आफ्नो अनुभव र ‘उज्यालो नेपाल’ अभियानका विविध पक्षबारे मन्तव्य दिने अपेक्षा गरिएको छ ।

(आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलले सार्वजनिक गरेको कार्यक्रमको ब्यानर)

Leave a Reply