Home Login
संघ-संस्था

पोर्चुगलमा बाग्लुङ समाजद्वारा भव्य तीज कार्यक्रम आयोजना हुने

पोर्चुगल (लिस्बन) । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर पोर्चुगलको सक्रिय सामाजिक संस्था बाग्लुङ समाजले एक विशेष तीज कार्यक्रम तथा दर खाने समारोहको आयोजना गर्ने घोषणा गरेको छ ।

प्रवासमा आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले समाजले आउँदो २०२५ अगष्ट २५ सोमबारका दिन लिस्बनमा यो भव्य कार्यक्रम आयोजना गर्न लागेको हो ।

समाजले जारी गरेको विज्ञप्ति अनुसार, कार्यक्रम लिस्बनस्थित TV Henrique Cardoso 30B, 1700-227 हलमा दिउँसो ३:०० बजेदेखि राति १०:०० बजेसम्म सञ्चालन हुनेछ । पोर्चुगलमा छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला गराई तीजको रौनक साटासाट गर्ने र दर खुवाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यस वर्षको तीज कार्यक्रमलाई थप स्मरणीय र मनोरञ्जनात्मक बनाउन चर्चित तथा बहुप्रतिभाशाली कलाकारहरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका लोकप्रिय लोक तथा दोहोरी गायक रविन लामिछाने, सुमधुर स्वरकी धनी गायिका दिला बी.क., गायक शिव अखेलीसुमन खड्का जस्ता कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ । उनीहरूको प्रस्तुतिले परदेशमा रहेका नेपालीहरूलाई नेपालकै मौलिक तीज मेलाको अनुभूति दिलाउने विश्वास गरिएको छ ।

बागलुङ समाज, पोर्चुगलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सधैंझैं यसपालि पनि हाम्रो समाजले तीजको दर खुवाइ कार्यक्रम विशेष साँस्कृतिक वातावरणमा सम्पन्न गर्न लागेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं । यो पावन अवसरमा तपाईं स्वयम् उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।”

आयोजकका अनुसार, यो कार्यक्रम बागलुङ जिल्लावासीहरूका लागि मात्र नभई पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी, आमाबुबा, दाजुभाइ तथा नेपाली कला र संस्कृतिलाई माया गर्ने सबैका लागि खुला गरिएको छ । “तपाईंहरूको साथ, सहयोग र उपस्थितिले हाम्रो संस्कृति, एकता र समर्पणलाई अझ मजबुत बनाउनेछ,” विज्ञप्तिमा भनिएको छ ।

यो कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने मात्र नभई व्यस्त जीवनशैलीबाट केही समय निकालेर एकआपसमा भेटघाट गर्ने, सुखदुःख साट्ने र समुदायमा एकता र मेलमिलापको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । आयोजक समितिले सम्पूर्ण पोर्चुगलवासी नेपालीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन हार्दिक अनुरोध गरेको छ ।

(आयोजक बाग्लुङ समाज पोर्चुगलले सार्वजनिक गरेको कार्यक्रमको एक पोस्टर)

Leave a Reply