पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा एक विशेष समारोहका बीच नेपाल दूतावासको चान्सरीको विधिवत रूपमा उद्घाटन गरिएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगल गणराज्यका विदेश मामिला तथा सहयोग राज्य सचिव महामहिम डा. आना इसाबेल जेभियरले आज संयुक्त रूपमा दूतावासको उद्घाटन गर्नुभएको हो । यस ऐतिहासिक कदमले नेपाल र पोर्चुगलबीचको कूटनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले दूतावासको सफल स्थापनामा पोर्चुगल सरकारले पुर्याएको निरन्तर सहयोग र सहजीकरणप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले नवस्थापित दूतावासले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन एउटा बलियो पुलको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा पोर्चुगलकी राज्य सचिव डा. जेभियरले पोर्चुगलमा नेपालको दूतावास स्थापना भएकोमा खुसी व्यक्त गर्दै दूतावासको सुचारु सञ्चालनका लागि पोर्चुगल सरकारको तर्फबाट निरन्तर र पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।
कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले उपस्थित विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै दूतावास स्थापनामा प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै, कूटनीतिक कोर्प्सका डीन आन्द्रेस कार्रास्कोसा कोसोले लिस्बनस्थित कूटनीतिक परिवारमा नेपाललाई नयाँ सदस्यका रूपमा न्यानो स्वागत गर्नुभयो । उक्त समारोहमा पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव राजदूत फ्रान्सिस्को रिबेरो टेलेस, शिष्टाचार प्रमुख राजदूत फ्रान्सिस्को भाज पाटो लगायत अन्य उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसैबीच, दूतावासको उद्घाटनकै दिन साँझ गैरआवासीय नेपाली संघ (एनआरएनए) र पोर्चुगलमा सक्रिय विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा नेपालको ७६ औं प्रजातन्त्र दिवस पनि भव्यताका साथ मनाइएको छ ।
कार्यक्रममा राजदूत पौडेलले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही क्रममा परराष्ट्र सचिव राईले प्रजातन्त्र दिवसको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीहरूबीच एकता र सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
औपचारिक उत्सवपश्चात् दूतावासले नेपाली समुदायका सदस्यहरूसँग छुट्टै अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त छलफलमा सहभागीहरूले कन्सुलर सेवाको सहजता, व्यापार, पर्यटन र लगानी प्रवर्द्धन जस्ता महत्त्वपूर्ण विषयमा आफ्ना सरोकार र जिज्ञासाहरू राखेका थिए । उठाइएका प्रश्नहरूको सम्बोधन गर्दै परराष्ट्र सचिव राईले सहभागीहरूको सरोकारलाई गम्भीरतापूर्वक लिएको बताउँदै दूतावास र परराष्ट्र मन्त्रालयको तर्फबाट हरसम्भव सहयोग र सहजीकरण हुने प्रतिबद्धता जनाउनुभयो ।
सोही विशेष अवसरमा परराष्ट्र सचिव राईले नेपाल राष्ट्रिय दिवस २०८२ को सन्दर्भ पारेर दूतावासद्वारा आयोजित ‘नेपालको आर्थिक विकासमा पोर्चुगलमा नेपाली समुदायको भूमिका र अवसर’ शीर्षकको निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको भोलि हुने पहिलो ऐतिहासिक बैठकको सह-अध्यक्षता गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव राई हिजो लिस्बन आइपुग्नुभएको हो ।





