Home Login
प्रविधि

माल्टामा कुलमान घिसिङ सम्मानित, नेपाली समुदायसँग भव्य अन्तरक्रिया सम्पन्न

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टा र तामाङ समाज माल्टाको संयुक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माल्टा तथा छिमेकी टापु गोजोमा बसोबास गर्ने नेपालीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा घिसिङलाई विशेष सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा ‘उज्यालो नेपालका नायक’ का रूपमा परिचित घिसिङलाई उनको नेतृत्व, दृष्टिकोण र राष्ट्रप्रतिको अतुलनीय योगदानको कदर गर्दै विशेष सम्मान तथा अभिनन्दन पत्रद्वारा सम्मानित गरियो । सहभागीहरूले उनको इमानदार नेतृत्व, पारदर्शिता र अथक प्रयासले नेपाली समाजमा ऊर्जा, आशा र प्रेरणा जगाएको भन्दै प्रशंसा गरे ।

अन्तरक्रियाका क्रममा घिसिङले आफ्नो कार्यकालका अनुभव, चुनौती र उज्यालो नेपाल निर्माणको यात्राबारे प्रकाश पारेका थिए । उनले भने, “बत्तीको उज्यालो मात्र होइन, देशका अँध्यारा पक्षहरूलाई चिर्दै उज्यालो भविष्यको बाटो देखाउनु हाम्रो लक्ष्य हो ।” माल्टामा रहेका नेपाली समुदायसँगको छलफलमार्फत उनले आफ्नो दृष्टिकोणलाई थप प्रष्ट पारेका थिए, जसले सहभागीहरूलाई उत्प्रेरित बनाएको थियो ।

आयोजकहरूका अनुसार, यो कार्यक्रम सम्पूर्ण माल्टा र गोजोमा बसोबास गर्ने नेपाली डायस्पोराका लागि एक अविस्मरणीय अवसर बन्यो, जहाँ उनीहरूले राष्ट्रिय गौरवका व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्ने मौका पाए । कार्यक्रममा बोल्दै वक्ताहरूले भने, “असली नेतृत्व भनेको केवल समस्या देख्नु मात्र होइन, त्यसको समाधानको बाटो उज्यालो बनाउन सक्नु हो, र यो कुरा कुलमान घिसिङले प्रमाणित गर्नुभएको छ ।”

यसै अवसरमा, अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरी नेपाली समुदायको गौरव बढाउनु भएकी सुश्री सावित्री तामाङलाई पनि विशेष सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । उनको उपलब्धिले विदेशमा रहेका नेपालीहरूलाई प्रेरित गरेको भन्दै उनको कदर गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा, आयोजक संस्थाहरूले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे । साथै, घिसिङले बोकेको उज्यालो नेपालको परिकल्पना अझ सशक्त र सफल बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गरियो ।

 

Leave a Reply