पोर्चुगल (लिस्बन) । पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन वा नवीकरण गर्न चाहने नेपालीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै आगामी सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३०, २०२५ सम्मको अवधिका लागि अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो ।
उक्त अवधिका लागि शुक्रबार, आज दिउँसोको ५ बजेदेखि अनलाइन प्रणालीमा अपोइन्टमेन्ट स्लटहरू उपलब्ध गराइएको दूतावासले जनाएको छ । राहदानीको म्याद समाप्त भएका, निकट भविष्यमा म्याद सकिन लागेका, वा राहदानी हराएका/च्यातिएका (फाल्ता) व्यक्तिहरूले यो अवसरको लाभ लिन सक्नेछन् ।
दूतावासका अनुसार, आवेदकहरूले सबैभन्दा पहिले राहदानी विभागको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भरिसकेपछि त्यसको प्रिन्ट-आउट अनिवार्य रूपमा सुरक्षित राख्नुपर्छ । आफूले रोजेको मिति र समयमा बायोमेट्रिक्सका लागि दूतावासको कार्यालय, Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा निम्न कागजातहरू सहित उपस्थित हुनुपर्नेछ :
– अनलाइन भरेको राहदानी फारामको प्रिन्ट-आउट
– सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि
– सक्कल राहदानी (पुरानो) र त्यसको प्रतिलिपि
नाबालक आवेदकका लागि थप कागजातहरू :
– नाबालक परिचयपत्र
– जन्मदर्ता प्रमाणपत्र
– बुबा र आमा दुवैको सक्कल नागरिकता र राहदानी
– बुबा-आमाको विवाह दर्ता प्रमाणपत्र
अर्को चरणको अपोइन्टमेन्ट सेप्टेम्बर १२ मा खुल्ने !
दूतावासले प्राविधिक कारणले यसपटक केवल १५ दिनको लागि मात्र अपोइन्टमेन्ट खुलाइएको स्पष्ट पारेको छ । सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यानमा राख्दै, अर्को चरणको अपोइन्टमेन्ट आउँदो सेप्टेम्बर १२, २०२५ शुक्रबारका दिन दिउँसोको ५ बजे पुनः खोलिने व्यहोरा पनि सूचनामार्फत जानकारी गराइएको छ ।
राहदानी आवेदन र सेवाबारे थप जानकारी आवश्यक परेमा दूतावासको आधिकारिक वेबसाइट https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ मा हेर्न वा दूतावासमा सिधै सम्पर्क गर्न सकिनेछ । दूतावासले तोकिएको समयमा आवश्यक सबै कागजातहरू लिएर मात्र उपस्थित हुन सबै आवेदकहरूलाई अनुरोध गरेको छ ।