पोर्चुगल (लिस्बन) — हाल युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन प्रवासमा रहेका नेपालीहरुलाई आह्वान गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलद्वारा आफ्नो सम्मानमा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठूलो अपेक्षा राखेको बताए ।
खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरुले पठाएको रकम (रेमिटान्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एअरपोर्टदेखि नै दु:ख दिने गरिएको उनले बताए ।
“विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपियाँ भन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ, तर त्यस अनुसार उहाँहरुले सम्मान पाउन सक्नु भएको छैन,” उनले भने ।
मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक छ,” उनले भने ।
आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरुको भ्रमणमा आइपुगेको बताउंदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तब सम्म कसैको पनि इज्जत नबढ्ने बताए ।
चिलिमे जलविद्युत आयोजनाको प्रमुख भएर काम गरेको अनुभव साझा गर्दै घिसिङले भने, “चिलिमेबाट मलाई सरुवा गरिए पछि स्थानीय जनताले एक महिनासम्म आन्दोलन गर्नु भयो, एक हप्तासम्म त सडक नै बन्द गर्नु भयो । त्यसैले जनताको माया कस्तो हुन्छ भन्ने मैले त्यसै बेला थाहा पाएको हुँ ।” जनतालाई केन्द्रमा राखेर सामाजिक-आर्थिक रुपान्तरणको लागि काम गर्नुपर्ने उनले बताए ।
“आम जनतालाई सहुलियत दिन विद्युत महसुल २५ प्रतिशत घटाउँदा पनि प्राधिकरणले अहिले वार्षिक १२- १५ अर्ब रुपियाँ नाफा गरिरहेको छ । १० वर्षसम्म लोडशेडिङ अन्त्य हुँदैन भनेर हाम्रै एक्स्पर्टहरुले भनेका थिए, तर अहिले भारत र बंगलादेशलाई विद्युत निर्यात गरिरहेका छौं । सात हजार मेगावाटका परियोजना निर्माणाधीन छन्,” उनले भने ।
घिसिङले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने हो भने नेपालले विद्युत बिक्री गरेर वर्षेनी ३० देखि ४० खरब रुपियाँ आम्दानी गर्न सक्ने बताए । “२५ देखि ३० वर्षभित्र ती सबै आयोजना सरकारको स्वामित्वमा आउँछन् । विद्युतबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा खर्च गर्न सकिन्छ,” उनले भने । विद्युत मात्रै हेरेर हुँदैन, नेपालमा सबै क्षेत्र उज्यालो बनाउनु पर्छ भन्दै आफूले उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए ।
“नेपालमा सही समयमा सही व्यक्ति सही ठाउंमा हुँदैन, त्यसले समस्या आउँछ। राजनीतिमा पनि, हरेक क्षेत्रमा यो लागू हुन्छ,” उनले भने । “यो पोलिटिकल लिडरशिप राम्रो हुनु पर्छ भन्ने अभियान पनि हो । देश विकास गर्नलाई राजनीतिक नेतृत्व नै राम्रो हुनुपर्छ, मेरो पनि बुझाइ त्यही हो । समय आएको बेला देशमा परिवर्तन गर्नलाई तपाईंहरुले पनि योगदान गर्नु पर्छ,” उनले भने ।
नेपालको संविधानले दिएको र सर्वोच्च अदालतले दिएको आदेश अनुसार विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर पनि भोट हाल्न दिनुपर्ने उनले बताए ।
त्यस्तै एनआरएन नागरिकता अहिले प्रयोगविहीन अवस्थामा रहेको गुनासो आएको भन्दै जति सक्दो चांडो कानून बनाएर एनआरएन नागरिकता कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
“एनआरएनहरुलाई सहज रुपमा नेपालमा गएर लगानी गर्ने वातावरण बनाउनु पर्छ । नेपाललाई उज्यालो बनाउने, नेपाललाई समृद्ध बनाउने तपाईं हाम्रो सबैको दायित्व हो । यो सबैलाई जोड्ने अभियान हो । उज्यालो नेपाल अभियानलाई साथ सहयोग दिन म आग्रह गर्न चाहन्छु,” घिसिङले भने ।
उनले आफ्नो बाँकी जीवन समग्र देशको उज्यालोको लागि समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उक्त अवसरमा घिसिङलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोप कुमार मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जन लामाले गरेका थिए भने अर्जुन घिमिरे, सोम फुरी शेर्पा लगायतले मन्तव्य राखेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका महासचिव प्रेम लिम्बुले संचालन गरेको कार्यक्रममा शेर्पा नृत्य पनि प्रस्तुत गरिएको थियो । उनी आइतबार (२४ अगष्ट) मा केम्टन पार्कमा तमुधिं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशेष अतिथिको रुपमा सहभागी हुने आयोजकले जनाएका छन् ।