Home Login
भिडियो

गायक रमेशराज भट्टराईको नयाँ गीत ‘एनि हाउ पैसा कमाउ’ सार्वजनिक

काठमाडौँ – नेपाली सांगीतिक आकाशमा एकपछि अर्को लोकप्रिय गीतहरू पस्कँदै आएका गायक रमेश राज भट्टराईले आफ्नो नयाँ सांगीतिक कोसेली ‘एनि हाउ पैसा कमाउ’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान खिच्न सफल भएको छ ।

आफ्नो सांगीतिक यात्रामा ‘बहुला’ गीतबाट “बहुला गायक” को उपनामले समेत चिनिएका भट्टराईले यसपटक पनि समाजको यथार्थलाई मार्मिक र रोचक ढंगले गीतमा उतारेका छन् । “जसरी हुन्छ पैसा कमाउ, चाहे रगत बगाउ चाहे पसिना बगाउ” जस्ता शब्दहरूले भरिएको यो गीतले वर्तमान समाजमा पैसाप्रतिको बढ्दो मोह र त्यसले निम्त्याएका विकृतिहरूलाई उजागर गरेको छ । पैसाकै लागि मानिसले गर्नुपरेको संघर्ष, त्याग र कहिलेकाहीँ गलत बाटो रोज्नुपर्ने बाध्यतालाई गीतले कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

गायक भट्टराईकै आधिकारिक युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् रमेश राज भट्टराईको रहेको छ । उनको मौलिक प्रस्तुतिले गीतलाई थप जीवन्त बनाएको छ ।

गीतको संगीत संयोजन पछिल्लो पुस्ताका चर्चित संगीत संयोजक सहस शाक्यले गरेका हुन् भने गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोलाई पनि दर्शकले रुचाएका छन् । चर्चित निर्देशक दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोमा विकास फिरोज र एलिना रायमाझीको जीवन्त अभिनय देख्न सकिन्छ । उनीहरुको अभिनयले गीतको भावलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ ।

भिडियोको छायाङ्कन पनि निर्देशक पौडेल र उनको टिमले नै गरेको हो, जसले गीतको मर्म–अनुसार दृश्यहरूलाई कलात्मक रूपमा कैद गरेको छ ।

आफ्नो नयाँ प्रस्तुतिबारे बोल्दै गायक भट्टराईले भने, “‘बहुला’ गीतले मलाई दर्शकमाझ चिनायो, र त्यो मायाले मलाई सधैँ केहि नयाँ र सान्दर्भिक विषयमा गीत गर्ने प्रेरणा दिन्छ । ‘एनि हाउ पैसा कमाउ’ पनि आजको समाजको एक तितो यथार्थ हो, जसलाई मैले सांगीतिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु । दर्शक/श्रोताले यसलाई मन पराइदिनुभएकोमा म निकै उत्साहित छु ।

आफ्ना हरेक गीतमा मौलिकता र समाजको चित्रण पस्कने गायक भट्टराईको यो नयाँ गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो चर्चा कमाउने निश्चित देखिन्छ ।

भिडियो हेर्नुहोस् :

Leave a Reply