पोर्चुगल — तमु समाज पोर्चुगलद्वारा आयोजित सातौं संस्करणको तमु कप–२०२५ मा ‘धरन सिटी एफसी पोर्चुगल’ले आफ्नो प्रभुत्व जमाउँदै ओपन र भेट्रान दुवै उपाधि जितेको छ । आइतबार, अगस्ट ३१ तारिखका दिन लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वाको खेल मैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा धरान सिटीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो उपाधि उचालेको हो ।
७ ए साइड ओपनतर्फको प्रतिस्पर्धामा धरान सिटी एफसीले फाइनलमा जित हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा धरान सिटीका खेलाडी आश्रे तामाङ ‘उत्कृष्ट खेलाडी’ घोषित भए भने सोही क्लबका विवेक मगरले ‘उत्कृष्ट गोलकिपर’को उपाधि हात पारे ।
त्यसैगरी, ३५ वर्षमाथिको भेट्रानतर्फको उपाधि पनि धरान सिटी एफसीले नै जित्न सफल भयो । भेट्रानतर्फको खेलमा धरान सिटीका केन्द्र विक्रम लिम्बु ‘उत्कृष्ट खेलाडी’ घोषित भए भने सुदीप योञ्जनले ‘उत्कृष्ट गोलकिपर’को उपाधि जिते । झापा एफसीका राजकुमार लिम्बुले प्रतियोगिता अवधिभर सर्वाधिक गोल गर्दै ‘उच्च स्कोरर’को उपाधि सुरक्षित गरे ।
पोर्चुगलमा रहेका नेपाली समुदायबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न फुटबल क्लबहरुको सहभागिता रहेको थियो । खेल हेर्न र खेलाडीहरुको हौसला बढाउन लिस्बन तथा आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।
एकै क्लबले दुवै उपाधि जितेपछि धरान सिटी एफसीका खेलाडी तथा समर्थकहरुले ठूलो उत्साहका साथ खुसियाली मनाएका थिए । प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता टिमहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
तमु समाज पोर्चुगलले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रतियोगिता पोर्चुगलको नेपाली समुदायमाझ एक प्रतिष्ठित खेलकुद उत्सवको रुपमा स्थापित हुँदै गएको छ ।
त्यस्तै, उक्त प्रतियोगिताको ७ ए साइड ओपन विजेताले ५ हजार १ सय युरो सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । त्यसैगरी भेट्रान ३५+ का विजेताले १ हजार ५ सय यूरोसहित ट्रफी र मेडल प्राप्त गरेका हुन् ।