Home Login
संघ-संस्था

लिमासोलमा चितवन सेवा समाज साइप्रसको भव्य कार्यक्रम सम्पन्न

लिमासोल, साइप्रस — २०८२ भदौ २९ गते आइतबार, साइप्रसको प्रमुख सहर लिमासोलमा चितवन सेवा समाज साइप्रसले आफ्नो नवौँ साधारण सभा तथा पाँचौं अधिवेशन पश्चात् दोस्रो प्रत्यक्ष भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाकी संस्थापक संरक्षक जसु पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नजिकिँदै गरेको विजयादशमी तथा शुभ दीपावली २०८२ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान पत्र वितरण तथा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडाले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा नेपालको राष्ट्रिय गान बजाइएको थियो । त्यसलगत्तै, हालसालै नेपालमा परिवर्तनका लागि आफ्नो ज्यान गुमाउने युवाहरूको सम्मानमा दीप प्रज्वलन गरी एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो, जसले कार्यक्रमलाई एक गम्भीर र सम्मानजनक सुरुवात दियो ।

कार्यक्रममा संस्थाका महासचिव पियुष लामा नेगीले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई न्यानो अभिवादन गर्नुभएको थियो भने समाजसेवी तथा संस्थाकी पूर्व उपाध्यक्ष आशा गुरुङले आउँदै गरेका महान चाडहरू दशैं र तिहारको सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, संस्थाको आर्थिक पारदर्शितालाई जोड दिँदै कोषाध्यक्ष अशोक पाण्डेले संस्थाको हालसम्मको आय-व्यय तथा लगानीको विस्तृत विवरण स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिले संस्था आफ्नो आर्थिक गतिविधिमा कति पारदर्शी र जवाफदेही छ भन्ने कुरा प्रष्ट पारेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक, पूर्व पदाधिकारी तथा वर्तमान कार्यसमितिका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित हुनेहरूमा संस्थापक संरक्षक जसु पुन मगर, समाजसेवी आशा गुरुङ, पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक सवि थापा, संस्थापक प्रथम उपाध्यक्ष तथा वर्तमान अध्यक्ष लक्ष्मी रेग्मी अधिकारी, वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडा, द्वितीय उपाध्यक्ष विष्णु थापा, महासचिव पियुष लामा नेगी, सचिव सुशील कुमार पोख्रेल, कोषाध्यक्ष अशोक पाण्डे, सदस्यहरू प्रतीक्षा उपाध्याय न्यौपाने र सन्तोष लामिछाने, तथा नयाँ सदस्य मनकुमार गुरुङ हुनुहुन्थ्यो। साथै, कार्यक्रममा नागरिक बोलेका पत्रकार राजाराम बस्नेत र पाहुनाहरू उर्मिला बस्नेत, नितु श्रेष्ठ तथा ज्योति श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी अधिकारीले कार्यक्रमलाई सफल बनाउन उपस्थित हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले समाजको एकतालाई अझ बलियो बनाउँदै भविष्यमा पनि यस्तै रचनात्मक कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमपश्चात् स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो, जसका लागि वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडा, सचिव सुशील कुमार पोखरेल लगायत भान्सामा खटिनुहुने सम्पूर्ण सहयोगीहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । उक्त भेटघाटले साइप्रसमा रहेका चितवनवासीहरूबीच आपसी भाइचारा, सद्भाव र एकताको भावनालाई अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन् ।

Leave a Reply