Home Login
राजदूतावास

अन्तत : बार्सिलोनामा नेपाली राहदानीको लागि घुम्ती टोली आउने

बार्सिलोना, स्पेन – स्पेनको बार्सिलोना र यस वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि एक महत्त्वपूर्ण र खुसीको खबर छ । म्याड्रिडस्थित नेपाली राजदूतावासले घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ, जसले गर्दा स्थानीय नेपालीहरूले राहदानी (पासपोर्ट) नवीकरण लगायत अन्य अत्यावश्यक कन्सुलर सेवाहरू आफ्नै शहरमा पाउने भएका छन् ।

यो घुम्ती सेवा विशेष गरी म्याड्रिडस्थित दूतावाससम्म पुग्न भौगोलिक रूपमा टाढा रहेका र आफ्नो काम वा अन्य व्यस्तताले गर्दा समय निकाल्न नसक्ने नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनसँगको सहकार्यमा हुन लागेको यस कार्यक्रमले स्थानीय नेपाली समुदायलाई दूतावाससँग प्रत्यक्ष रूपमा जोड्न र सरकारी सेवाहरू सहजै प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

शिविरमा मुख्यतया राहदानी नवीकरण र नयाँ राहदानी वितरण को काम हुनेछ । यसका साथै, दूतावासले प्रदान गर्ने अन्य कन्सुलर सेवाहरू जस्तै यात्रा अनुमति पत्र, कागजात प्रमाणीकरण र गैरआवासीय नेपाली (एनआरएनए) कार्ड सम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ ।

सेवा लिन के गर्नुपर्छ ?

दूतावासले जारी गरेको सूचनाअनुसार, घुम्ती शिविरमा बायोमेट्रिक दिनका लागि सेवाग्राहीहरूले अनिवार्य रूपमा अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भरेपछि प्राप्त हुने QR कोड प्रिन्ट गरी वा आफ्नो मोबाइलमा सुरक्षित राखी शिविरमा लिएर आउनुपर्नेछ । उक्त QR कोड बिना बायोमेट्रिक संकलन गर्न नसकिने हुँदा सेवा लिन चाहने सबैलाई समयमै फाराम भर्न दूतावासले आग्रह गरेको छ ।

उक्त घुम्ती कन्सुलर सेवा बार्सिलोना स्थित एनआरएनए स्पेनको केन्द्रीय कार्यालयमा अक्टोबर ११ र १२ तारिख बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हुने भएको हो ।

शिविरसम्बन्धी थप जानकारी वा कुनै जिज्ञासा भएमा, सेवाग्राहीहरूले तल उल्लेखित सम्पर्क नम्बरहरूमा फोन गर्न सक्नेछन् । (६३२१९२०८०)

दूतावासले यस्ता घुम्ती शिविरमार्फत स्पेनका विभिन्न भागमा छरिएर रहेका नेपाली नागरिकहरूसम्म आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसले गर्दा सेवाग्राहीको समय र खर्च दुवैको बचत भएको छ ।

Leave a Reply