साइप्रस (निकोसिया) — नेपालीहरूको महान चाड बडादशैंको अवसरमा साइप्रसको राजधानी निकोसियामा “निकोसिया युवा क्लब” ले एक विशेष दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यले क्लबले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम अक्टोबर ५ तारिख, आइतबारका दिन निकोसियास्थित ‘एन्टोनाकिस बार रेस्टुरेन्ट’ को हलमा आयोजना गरिएको थियो । अध्ययन तथा रोजगारीको सिलसिलामा साइप्रसका विभिन्न शहरबाट आएका नेपालीहरूको बाक्लो उपस्थितिले कार्यक्रम स्थल एक सानो नेपाल जस्तै देखिएको थियो । कार्यक्रममा सहभागीहरूले एकआपसमा दशैंको शुभकामना आदानप्रदान गर्दै विदेशी भूमिमा पनि आफ्नो चाडको रौनकलाई जीवित राखेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका डीएसपी तथा साइप्रसका लागि कन्टिन्जेन्ट कमान्डर रबिन्द्रमान गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएन) साइप्रसका पूर्व अध्यक्ष तथा आईसीसी सदस्य कुन्दन कार्कि र तमु समाज साइप्रसका संस्थापक संरक्षक बालकाशि गुरुङ विशेष अतिथिको रूपमा मञ्चमा आसीन हुनुहुन्थ्यो ।

अतिथिहरूको सूचीमा समाजसेवी बिना थापा, एनआरएन साइप्रसका सचिव बालकृष्ण दाहाल, नेपाल मगर संघ साइप्रसका वरिष्ठ उपाध्यक्ष आशा बुढा मगर, नेपाल तामाङ घेदुङ साइप्रस शाखाका उपाध्यक्ष नानी मोताङ तामाङ, किरात राई यायोखा साइप्रसका सक्रिय सदस्य नम्रता राई र शेर्पा किदुङ साइप्रसका सदस्य फुर्बा शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई उद्घोषिका रमिता चन्द ‘रितु’ ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने ‘निकोसिया युवा क्लब’ का सदस्य असिम न्यौपानेले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो मन्तव्यमा दशैंको शुभकामना दिँदै प्रवासमा यस्ता कार्यक्रमले आपसी भाइचारा र एकता बढाउने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति १५ युरो टिकट शुल्क तोकिएको थियो, जसमा दशैंको टीका-जमरा, सेलरोटी र खसीको मासु लगायतका स्वादिष्ट नेपाली परिकारहरू, सांस्कृतिक प्रस्तुति र डीजे सेसन समावेश थियो । उपस्थित सबैले मान्यजनहरूको हातबाट टीका-जमरा र आशीर्वाद ग्रहण गरेका थिए, जसले घरपरिवारको अनुपस्थितिलाई केही हदसम्म भए पनि भुलाएको थियो ।
कार्यक्रमको अर्को आकर्षण स्थानीय नेपाली कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । उनीहरूले प्रस्तुत गरेका विभिन्न नेपाली लोक तथा आधुनिक गीत-संगीत र नृत्यले कार्यक्रममा थप रौनकता थपेको थियो । कार्यक्रमको अन्त्यमा ‘लाइभ डिजे’ को संगीतमा युवायुवतीहरू रमाएर नाचेका थिए ।
आयोजक ‘निकोसिया युवा क्लब’ले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै अतिथि, सहभागी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेको छ । यस कार्यक्रमले साइप्रसमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराई दशैंको पारिवारिक वातावरण प्रदान गर्नुका साथै सांस्कृतिक एकताको बलियो सन्देश दिएको छ ।