Home Login
बेलायत

लन्डन–काठमाडौं सिधा उडान सुरु गर्न बेलायती सांसदबाट हस्ताक्षर अभियान

बेलायत — बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन र काठमाडौंबीच सिधा हवाई उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । ह्यारो वेष्टबाट चौथो पटक निर्वाचित सांसद थोमसले नेपाली समुदायको बलियो मागलाई सम्बोधन गर्दै यो अभियान सुरु गरेको जनाएका छन् ।

सांसद थोमसले आफ्नो पिटिशनमा बेलायतमा रहेको नेपाली समुदाय सबैभन्दा छिटो बढ्दै गरेको र जीवन्त प्रवासी समूहमध्ये एक भएको उल्लेख गरेका छन् । उनले गोर्खा सैनिकहरूको योगदानले बेलायत र नेपालबीचको सम्बन्ध गहिरो बनेको र आज पनि यो समुदायले नेपालसँग बलियो पारिवारिक, सांस्कृतिक र आर्थिक सम्बन्ध कायम राखेको बताए ।

हाल लन्डन र काठमाडौंबीच कुनै पनि नियमित सिधा व्यावसायिक उडान नहुँदा यात्रुहरू (परिवार, विद्यार्थी, व्यवसायी, पर्यटक, ज्येष्ठ नागरिक) ले लामो र खर्चिलो यात्रा गर्नुपरेको छ । धेरैजसो उडानमा दुई वा तीन ट्रान्जिट गर्दा कुल यात्राको समय १४ घण्टाभन्दा बढी पुग्ने गरेको र यसले विशेषगरी ज्येष्ठ नागरिकका लागि कठिनाइ सिर्जना गरेको पिटिशनमा भनिएको छ ।

पिटिशनमार्फत ब्रिटिश-नेपाली समुदायले ब्रिटिश सरकार, यातायात मन्त्रालय र सिभिल एभिएसन अथोरिटीसँग गरिएको माग :

– ब्रिटिश एयरलाइन्स र लन्डनका प्रमुख विमानस्थलहरू (हिथ्रो, ग्याटविक र स्टानस्टेड) को सहकार्यमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान विकल्पहरू खोज्न तत्काल पहल गरियोस् ।

 – सिधा उडान स्थापना भएमा बेलायत र नेपालबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध सुदृढ हुने, पर्यटन र व्यापारिक अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ ।

– यसले हजारौं ब्रिटिश-नेपाली परिवारका लागि पहुँच सहज हुने र धेरै ट्रान्जिट भएका उडानको तुलनामा वातावरणीय प्रभाव पनि घटाउने दाबी पिटिशनमा गरिएको छ ।

Leave a Reply