Home Login
रोमानिया

रोमानियामा कार्यरत धादिङका २६ वर्षीय युवकद्वारा आत्महत्या

बुखारेस्ट (रोमानिया) — रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि रोमानियामा कार्यरत एक नेपाली युवकले आत्महत्या गरेका छन् । धादिङ जिल्ला धुनिवेशी नगरपालिका, वडा नं १ घर भएका २६ वर्षीय रोजन धितालले शुक्रबार आत्महत्या गरेको दुखद खबर प्राप्त भएको छ ।

जानकारी अनुसार, धिताल रोमानियाको सेक्टर–२ स्थित आफ्नै कोठामा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी के कस्तो प्रकारको काम गर्दथे भन्नेबारे थप विवरण आइसकेको छैन, तर उनी दुई वर्षदेखि रोमानियामा कार्यरत रहेको बुझिएको छ ।

उक्त घटनाबारे नजिकै बसोबास गर्ने अर्का नेपाली, बिछोड जिम्बा लामा (बिछोड तामाङ) ले जानकारी गराउनुभएको हो । लामाका अनुसार, घटना थाहा पाउने बित्तिकै स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।

घटनाको खबर पाएलगत्तै स्थानीय प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले शव नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलबाट कुनै सुसाइड नोट वा आत्महत्याको कारणबारे संकेत दिने वस्तु फेला परेको छैन । आत्महत्याको वास्तविक कारण खुल्न सकेको छैन र प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

मेहनत गरेर भविष्य बनाउने सपना बोकेर युरोप पुगेका युवाको असामयिक र दुखद निधनले रोमानियामा रहेका सम्पूर्ण नेपाली समुदाय स्तब्ध र मर्माहत बनेको छ । सामाजिक सञ्जालमा धेरैले मृतक धितालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply