(बार्सिलोनामा सम्पन्न चौथो अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि ३१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गर्यो; युरोपभरका कलाकारलाई समेट्दै लोक संस्कृतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता ।)
बार्सिलोना, स्पेन — नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको युरोपमा प्रवर्द्धन, संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाको चौथो अधिवेशन स्पेनको बार्सिलोनामा भव्यताका साथ सम्पन्न भएको छ ।
युरोपका ३१ देशका करिब २ सय प्रतिनिधिहरूको सहभागिता रहेको उक्त अधिवेशनले नर्वे निवासी सुवास चन्द्र पुन मगरको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले युरोपभर रहेका नेपाली लोक तथा दोहोरी गीत कलाकारहरूलाई संगठित गर्दै नेपाली मौलिकताको जगेर्ना गर्ने लक्ष्य लिएको छ । नव–निर्वाचित कार्यसमितिहरुमा अध्यक्षमा नर्वेबाट सुवास चन्द्र पुन मगर र महासचिवमा पोर्चुगलबाट सञ्चारकर्मी पुस्तक रेग्मी निर्वाचित भएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा फिनल्यान्डबाट विनिता लामिछाने, उपाध्यक्षहरुमा पोर्चुगलबाट किरणदिप परियार, दीपक वुढाथोकी, दिनेश खड्का रहेका छन् । त्यस्तै महिला उपाध्यक्षमा पोर्चुगलबाट कला पंगेनी, सचिवमा स्पेनबाट श्याम क्षेत्री, कोषाध्यक्षमा फिनल्यान्डबाट विनोद भण्डारी रहेका छन् ।
त्यसैगरी, समितिको सदस्यहरूमा फ्रान्सबाट एरिका शर्मा, बेल्जियमबाट सीता सुवेदी र फ्रान्सबाट गंगा आचार्य लगायत विभिन्न देशबाट प्रतिनिधित्व गर्ने कलाकारहरू चयन भएका छन् ।
अधिवेशनको पहिलो चरण (बन्दसत्र) निबर्तमान अध्यक्ष पूर्ण बहादुर आर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो सत्रमा संस्थाको आर्थिक प्रतिवेदन तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसलाई उपस्थित प्रतिनिधिहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए ।
कार्यक्रममा नेपालकै पहिलो दोहोरी साँझ ‘पुकार दोहोरी साँझ’ का सञ्चालक तथा लोक संस्कृतिका अभियन्ता मुक्त गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएन) स्पेनका पदाधिकारीहरू, स्पेन तथा युरोपस्थित अन्य नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले युरोपको व्यस्त जीवनशैलीका बीच पनि नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे । उनीहरूले युरोपमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो मौलिक कला र संस्कृतिसँग जोड्न प्रतिष्ठानको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिँदै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरे ।
अधिवेशनको औपचारिक कार्यक्रमलाई युरोपका विभिन्न देशबाट आएका कलाकारहरूको सांगीतिक, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूले थप आकर्षक र जीवन्त बनाएको थियो ।
अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि, नवनिर्वाचित अध्यक्ष सुवास चन्द्र पुन मगरले नयाँ नेतृत्वले युरोपभर नेपाली लोक संस्कृति, परम्परा र मौलिकतालाई प्रवर्द्धन गर्न दृढ प्रतिबद्धताका साथ काम गर्ने बताउनुभयो ।
“हामी सबै नेपाली कलाकारहरूको साझा मञ्चका रूपमा यस संस्थालाई अझ सशक्त, ऊर्जाशील र प्रभावकारी बनाउने हाम्रो उद्देश्य हुनेछ,” अध्यक्ष मगरले भन्नुभयो, “युरोपमा रहेका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र नेपाली संस्कृतिको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने हाम्रो अभियान जारी रहनेछ ।”
उहाँले संस्थालाई आजको अवस्थासम्म ल्याउन योगदान पुर्याउने सम्पूर्ण अग्रज नेतृत्व, सल्लाहकार, शुभेच्छुक, सहयोगी संघ–संस्था र अधिवेशन सफल पार्न खट्ने सम्पूर्ण कलाकार समुदायप्रति आभार व्यक्त गर्नुभयो ।
त्यस्तै पोर्चुगलबाट महासचिवमा निर्वाचित भएका सञ्चारकर्मी पुस्तक रेग्मीले समेत आगामी दिनमा सबैसँग एकता, सहकार्य र सांस्कृतिक अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभयो ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिले बार्सिलोनामा उपस्थित सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।





