Home Login
साहित्य

उडान भरूँ जस्तो लाग्छ…

अब उडान भरुँ जस्तो लाग्छ,
तर जिन्दगीमा देखेका, चाहेका सबै कुरा कहाँ पूरा हुँदारहेछन र ?
सफलताको यात्रामा हरेक पाइला परिस्थितिसँग लड्नैपर्छ ।“आजभन्दा भोलि राम्रो होला” भन्ने आशामा उभिएको वर्षौं बितिसकेछ ।

मनभित्र गुम्सिएका रहर, इच्छा, सपना
ती सबैको हत्यारा आफैँ बनेँ,
स्वार्थले भरिएका सम्बन्धहरूलाई टुट्न नदिउँ भनेर समातेँ,
तर निस्वार्थ माया कसैबाट पाइन ।

जोडिएका कतिपय सम्बन्धले त
मृत्युसम्म रोज्न बाध्य बनायो ।
आफ्नै भनिनेहरूले अनुहार मात्र होइन,
स्वार्थका मुखौटा पनि देखाए ।

कसैको साथले खुशी पाएँ,
तर कतिपय साथमा आँसु मात्र बाँडियो ।
केही समय एकान्तको शान्तिमा रमाएँ,
साँच्चै सबैबाट टाढा हुँदा
थोरै भए पनि स्वास सजिलो लाग्दो रहेछ ।

नाता, सम्बन्ध, आफ्नोपन सबैलाई त्यागेर
थोरै टाढा राखेँ आफूलाई,
त्यो टाढोपनमा कुनै नयाँ जीवनको सुरुवात जस्तो अनुभूति भयो ।
दुख–सुख जीवनको हिस्सा हो,
यो त भन्नै नपर्ने कुरा हो ।
समयसँगै जीवन बदलिंदो रहेछ ।
तर समयमा आफूलाई बलियो बनाउन नसके,
दुखी त आफैँ बन्नुपर्ने रहेछ ।

चोटले मुटु चिरेको छ,
शब्दहरूले मन घोचेको छ ।
तर पनि, “दुख्यो” भन्नै कहाँ सकेँ र ?
अब भने जहाँ र जतिबेला दुख्छ त्यही बेला भन्न सिक्नुपर्छ ।

बिगतलाई चितामा जलाएर
भविष्यतर्फ पाइला चाल्न सक्नुपर्छ ।
समयमै यात्रा गर्न नसके पनि
गन्तव्य चाहिँ समयमै भेट्न सकूँ ।

म स्वतन्त्र बाँच्न चाहन्छु
कसैको अगाडि पग्लिन छैन,
फैलिन छैन,
विगत र वर्तमानको छायाँले
मेरो भविष्य ढाक्न नपाओस् ।

“म छु नि” भन्नेहरू
कहिल्यै मेरा थिएनन् ।
अब त यति मात्र चाहन्छु
भोलिको दिनमा जब कोही भन्छ,
“ओहो ! तिमी त…!”
त्यो गर्वका साथ “म को हुँ” भन्ने परिचय म आफैँ बनाउन सकूँ ।

मिना कटुवाल (धरान)

Leave a Reply