Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलमा नेपाली दूतावासद्वारा आयोजित लेख/रचना प्रतियोगिताको नतिजा सार्वजनिक

पोर्चुगल (लिस्बन) — नेपाली राजदूतावास लिस्बनले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ को अवसरमा आयोजना गरेको लेख/रचना लेखन प्रतियोगिताको नतिजा आज सार्वजनिक गरेको छ ।

दूतावासले ‘नेपालको आर्थिक विकासमा पोर्चुगलबासी नेपालीको भूमिका र अवसरहरु’ विषयक खुल्ला लेख लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पोर्चुगलको पोन्टे डे सोर मा बसोबास गर्दै आएका प्रशान्त श्रेष्ठ प्रथम भएका छन् ।

दूतावासद्वारा जारी सूचना अनुसार, प्राप्त लेखहरूमध्ये उत्कृष्ट ठहरिँदै दुई जना लेखकहरूले पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

स्थायी ठेगाना काठमाडौँ-१०, नयाँ बानेश्वर, हाल Ervideira, Ponte De Sor, Portalegre, Portugal मा बस्दै आउनुभएको प्रशान्त श्रेष्ठले प्रथम स्थान हासिल गर्नुभएको हो । त्यस्तै पोर्चुगलको राजधानी लिस्बनमा बसोबास गर्दै आइरहनुभएको कपिलदेव खनालले द्वितीय (सान्त्वना) स्थान हासिल गर्नुभएको छ ।

राजदूतावासले गत २५ अगस्ट २०२५ मा एक सूचना प्रकाशित गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई यस बौद्धिक प्रतिस्पर्धामा भाग लिन आह्वान गरेको थियो । नेपालको आर्थिक समुन्नतिमा प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा पोर्चुगलभरिबाट उत्साहजनक सहभागिता रहेको थियो ।

दूतावासका अनुसार तोकिएको समयसीमाभित्र विभिन्न क्षेत्रबाट गरी जम्मा २० जना नेपालीहरूले आफ्ना लेख तथा रचनाहरू पठाएका थिए ।

नतिजा प्रकाशन गर्दै नेपाली राजदूतावासले विजेताहरूलाई पुरस्कार ग्रहण गर्नका लागि पछि सम्पर्क गरिने जानकारी दिएको छ । साथै, दूतावासले प्रतियोगितामा सहभागी भई आफ्ना विचार र रचना पठाउने सम्पूर्ण २० जना लेखक तथा रचनाकारहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

यो प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिको विकासमा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा सोच्न र आफ्ना विचारहरू प्रस्तुत गर्न एक महत्त्वपूर्ण मञ्च प्रदान गरेको मानिएको छ ।

हेर्नुहोस् राजदुतावासको सूचना : 

Leave a Reply