लिस्बन (पोर्चुगल) — पोर्चुगलको आप्रवासन एजेन्सी, एआईएमएले पोर्चुगलमा रहेका विदेशी विद्यार्थीहरूका लागि अस्थायी बसोबास अनुमतिको प्रक्रियालाई सहज बनाउन एउटा नयाँ समय तालिका फारम सुरु गरेको छ । यो नयाँ व्यवस्था विशेष गरी ती विदेशी विद्यार्थीहरूलाई लक्षित गरिएको हो जसलाई आवेदन दिनको लागि भिसा आवश्यक पर्दैन ।
एआईएमएले यो फारम मुख्यतया दुई प्रकारका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि ल्याएको हो ।
१. पढाइ सकेर काम गर्न चाहनेहरू : जसले पोर्चुगलमा आफ्नो माध्यमिक शिक्षा वा उच्च शिक्षाको पहिलो चरण पूरा गरेका छन् र अब उनीहरू पोर्चुगलमै बसेर काम गर्न चाहन्छन् । यसमा कुनै कम्पनीमा जागिर खाने (कर्मचारी) वा स्वतन्त्र रूपमा काम गर्ने (फ्रीलान्सर/व्यवसायी) दुवै पर्दछन् ।
२. जागिर खोज्ने वा व्यवसाय सुरु गर्ने अवधिको फाइदा लिन चाहनेहरू : जसले पोर्चुगलमा आफ्नो उच्च शिक्षा वा अनुसन्धान परियोजनाहरू पूरा गरेका छन् । यदि उनीहरू आफ्नो योग्यता अनुसारको रोजगारी खोज्न वा व्यवसाय सुरु गर्न चाहन्छन् भने, उनीहरूले १ वर्षको समय सीमाभएको विशेष सुविधा लिन यो फारम भर्न सक्छन् ।
आवेदन प्रक्रिया अघि बढाउन निवेदकले निम्न कागजातहरूको स्क्यान गरिएको प्रतिलिपि तयार राख्नुपर्नेछ ।
राहदानी : मान्य राहदानीको स्क्यान कपी ।
बसोबास अनुमतिपत्र : हाल आफूसँग भएको रेसिडेन्सी कार्डको कपी ।
अध्ययन पूरा गरेको प्रमाण : उच्च माध्यमिक शिक्षा वा अनुसन्धान परियोजना पूरा गरेको सर्टिफिकेट वा प्रमाणपत्र ।
कामको प्रमाण :
कर्मचारीको हकमा : रोजगार सम्झौता ।
स्व-रोजगारको हकमा : सेवा सम्झौता र फिनान्सामा गतिविधि खोलेको प्रमाण ।
घोषणापत्र : (जागिर खोज्नेहरूका लागि मात्र) आवेदकले आफ्नो योग्यता मिल्दो काम खोज्न १ वर्षको सुविधा लिन चाहेको स्व-घोषणा पत्र ।
सामाजिक सुरक्षा : NISS दर्ता भएको प्रमाण ।
एआईएमएले फारम भर्दा निम्न कुराहरूमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।
सहयोग सम्झौता : असाधारण अवस्था बाहेक, सहयोग सम्झौता अन्तर्गत जारी गरिएको आवास अनुमतिपत्र भएकाहरूलाई यो प्रक्रियामा विचार गरिने छैन ।
गलत फारम अस्वीकृत : यो फारम माथि उल्लेखित समूहका लागि मात्र हो । यदि तपाइँ यी मापदण्डभित्र पर्नुहुन्न तर फारम भर्नुभयो भने, तपाइँको आवेदन स्वत: बेवास्ता गरिनेछ ।
योग्य विद्यार्थीहरूले तलको लिङ्कमा गएर आफ्नो विवरण भरी समय तालिकाको लागि अनुरोध गर्न सक्छन् ।





