निकोसिया (साइप्रस) — रोजगारी तथा विभिन्न पेसा-व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीहरूको साझा संस्था तमु समाज साइप्रसले गुरुङ समुदायको महान् पर्व तथा नयाँ वर्ष ‘तमु ल्होसार’ भव्यताका साथ सम्पन्न गरेको छ ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, भाषा र भेषभुषालाई जीवन्त राख्ने उद्देश्यले आयोजित यो विशेष समारोह सन् २०२६ जनवरी ४ तारिख, आइतबारका दिन साइप्रसको राजधानी निकोसियास्थित ‘एन्टोनाकिस म्युजिक हल’ मा सम्पन्न भएको हो ।
“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, र संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ” भन्ने मर्मस्पर्शी मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमले परदेसको भूमिमा पनि नेपालीपन र सांस्कृतिक एकताको सन्देश प्रवाह गरेको छ । संस्थाकी अध्यक्ष सुनिता गुरुङको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रमुख अतिथिको रूपमा पारु गुरुङ र विशिष्ट अतिथिका रूपमा डम्बर गुरुङ तथा नविन गुरुङको उपस्थिति रहेको थियो । त्यसैगरी, अतिथिहरूमा जिबुटि शेर्पा, आशा बुढा मगर, प्रदिप तामाङ, राम लामा, गोमा राई, नविन राई, चुमान्त तुम्बापे लिम्बु, विष्णु राणा मगर, रमिता चन्द ठकुरी, बिना थापा र आशा गुरुङ लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुभारम्भ परम्परागत रूपमा दीप प्रज्वलन गरेर गरिएको थियो । कार्यक्रममा सांस्कृतिक विभागकी धनु गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण पाहुनाहरूलाई शब्दद्वारा स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष बालकासी गुरुङ र लक्ष्मी गुरुङले उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरूलाई सेतो टीका लगाएर गुरुङ संस्कृति अनुसार न्यानो स्वागत गर्नुभएको थियो ।
समारोहलाई थप रमाइलो र आकर्षक बनाउन विभिन्न सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो । कार्यक्रमको सुरुवातमै धनु गुरुङ, निशा गुरुङ, सिमा गुरुङ, आशा गुरुङ र अन्जु गुरुङले सामूहिक स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जातीय संस्थाहरूको तर्फबाट पनि बेजोड प्रस्तुतिहरू रहेका थिए । नेपाल तामाङ घेदुङ साइप्रसबाट मनिसा लोप्चन तामाङले सेलो ‘म्हेन्दोमाया’ मा नृत्य प्रस्तुत गर्नुभयो भने शेर्पा किदुगबाट आङ सोनिम शेर्पाले एकल स्याब्रु नाच देखाउनुभयो ।
त्यस्तै, किरात याक्थुङ चुम्लुङबाट स्मृति लिम्बु, किरात राई यायोक्खा साइप्रसबाट निरुता राई, सम्झना राई, सावित्रा बान्तावा राई, सुनिता राई लगायतले सामूहिक नृत्य प्रस्तुत गर्नुभयो । नेपाल मगर संघ साइप्रसबाट भुमी पुन मगर लगायत कलाकारहरू ममता लिम्बु, अबु लिम्बु र पवित्रा गुरुङले आ–आफ्नो एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेर दर्शकहरूलाई मनोरन्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सम्मान तथा कदर पत्र वितरणको सत्र पनि राखिएको थियो । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिनुभएका आर्मी फोर्सका डम्बर गुरुङले संस्थाकी अध्यक्ष सुनिता गुरुङ र महासचिव आयुष्मा गुरुङलाई उहाँहरूको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गर्नुभयो । आयोजक संस्थाले पनि उपस्थित सम्पूर्ण अतिथिहरू, कलाकारहरू, सहयोगी व्यक्तित्वहरू तथा मिडियाकर्मीहरूलाई सम्मान पत्र प्रदान गरेको थियो ।
कार्यक्रमको सञ्चार कभरेजका लागि सेफ्नो टिभीबाट आत्मा ध्वज लामा र विरमान लामा तथा नागरिक बोलीबाट राजाराम बस्नेत उपस्थित हुनुहुन्थ्यो भने विकास श्रेष्ठले प्राविधिक पक्ष (साउन्ड र लाइट) मा विशेष सहयोग पुर्याउनुभएको थियो ।
कार्यक्रमकी सभापति सुनिता गुरुङले प्रवासमा व्यस्त समयका बाबजुद पनि आफ्नो संस्कृतिलाई माया गरेर कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल बनाइदिनुहुने सम्पूर्ण अतिथि, कलाकार, मिडियाकर्मी र दर्शक महानुभावहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन मनिषा गुरुङ र आयुष्मा गुरुङले गर्नुभएको थियो ।






