Home Login
राजदूतावास

मार्च १४ तारिख सर्बियामा पहिलो पटक घुम्ती शिविर सञ्चालन हुने

सर्बिया — युरोपेली मुलुक सर्बियामा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकहरूका लागि राहदानी नवीकरणको लामो समयदेखिको समस्या अब समाधान हुने भएको छ । वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा सर्बियामा रहेका नेपालीहरूको सहजतालाई प्राथमिकतामा राख्दै, जर्मनीस्थित नेपाली राजदूतावासले पहिलो पटक राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ सञ्चालन गर्ने निर्णय गरेको हो । राहदानी विभाग काठमाडौँको प्रत्यक्ष समन्वय र बर्लिन दूतावासको सक्रियतामा आयोजना हुन लागेको यस शिविरले त्यहाँ रहेका नेपालीहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

दूतावासले जारी गरेको आधिकारिक सूचना अनुसार, यो विशेष शिविर आगामी सन् २०२६ मार्च १४ तारिखका दिन सञ्चालन हुनेछ । शिविर सर्बियाको दोन्जी मिलानोभाकस्थित ‘किङ् पिटर ४३७ एसपी २’ मा एक दिनका लागि आयोजना गरिनेछ ।

सर्बियासहित १० वटा मुलुकको कार्यक्षेत्र हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासले राहदानी विभागको टोलीसँग मिलेर सेवाग्राहीको पायक पर्ने स्थानमै पुगेर सेवा दिने उद्देश्यले यो कार्यक्रम तय गरेको हो ।

सर्बिया युरोपियन युनियन (ईयु) को सदस्य राष्ट्र नभएका कारण त्यहाँ कार्यरत नेपालीहरूलाई राहदानी नवीकरण वा कन्सुलर सेवा लिनका लागि जर्मनीस्थित दूतावाससम्म पुग्न निकै कठिन थियो । जर्मनी जानका लागि आवश्यक भिसा प्रक्रिया पूरा गर्न झन्झटिलो र खर्चिलो हुने हुँदा धेरै नेपालीहरू समस्यामा पर्दै आएका थिए । दूतावाससँग पनि सीमित स्रोतसाधन हुँदा चाहेर पनि पटक–पटक कर्मचारी खटाउन सम्भव भइरहेको थिएन । तर, यसपटक रोमानियामा सञ्चालन हुने शिविरकै समयतालिका मिलाएर त्यही टोलीलाई सर्बिया पठाउने रणनीतिक व्यवस्था मिलाइएको छ, जसले गर्दा लामो समयदेखि राहदानी नवीकरणको पखाईमा रहेका नेपालीहरूको बाध्यता अन्त्य हुने भएको छ ।

यस महत्त्वपूर्ण पहलका विषयमा बोल्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले सम्बन्धित देशमा रहेका नेपालीहरूको सङ्ख्या र चापका आधारमा दूतावाससँग समन्वय गरी प्राविधिक टोली खटाइएको जानकारी दिए । त्यस्तै, जर्मनीका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले सीमित स्रोतका बाबजुद पनि नेपालीहरूको समस्या समाधान गर्न यो विशेष पहल गरिएको बताएका छन् ।

उनले रोमानियामा शिविर चलिरहेकै अवधिभित्रको समय निकालेर १४ मार्चका दिन सर्बियामा एक दिने शिविर चलाइने र यो सुरुवात मात्र भएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार यस्तै तरिका अपनाई निरन्तर सेवा दिइने प्रतिबद्धता व्यक्त गरे ।

सर्बियामा पहिलो पटक आयोजना हुन लागेको यस ऐतिहासिक घुम्ती शिविरबाट अधिकतम लाभ लिन कार्यवाहक राजदूत फुयालले सर्बियाबासी सम्पूर्ण नेपालीहरूलाई विशेष अनुरोध गरेका छन् । यो अभियानले विदेशमा रहेका नेपाली श्रमिकहरूको सरकारी सेवाप्रतिको पहुँचलाई सरल, कम खर्चिलो र सहज बनाउने विश्वास लिइएको छ ।

Leave a Reply