साइप्रस – साइप्रसमा क्रियाशील नेपालीहरूको साझा संस्था डीबीआर नेपाली समाजले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम निकै सभ्य र सफल रह्यो ।
कार्यक्रमकी सभापति दुर्गा सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । त्यसलगत्तै, कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा विभिन्न संघसंस्थाबाट पाल्नुभएका प्रतिनिधिहरूलाई क्रमशः आसन ग्रहण गराइएको थियो । कार्यक्रमलाई सञ्चारकर्मी तथा प्रस्तोता मनिषा अधिकारीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य एनआरएनए साइप्रसकी पूर्व सचिव, डीबीआर नेपाली समाजकी सल्लाहकार, समाजसेवी तथा ‘न्युजलाइननेपाल डट.कम’की सञ्चारकर्मी मनिषा अर्यालले राख्नुभएको थियो । उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि, गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष दातानन्द पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उहाँले प्रवासमा रहेर पनि नेपाली समुदायलाई एकताबद्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै, आयोजक संस्थालाई सफल कार्यक्रमको लागि धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा साइप्रसमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । जसमा किराँत राई यायोक्या साइप्रसका अध्यक्ष नवीन राई, चितवन सेवा समाज साइप्रसकी अध्यक्ष लक्ष्मी रेग्मी, राष्ट्रिय जनमुक्ति मञ्च साइप्रसकी खम माया पुन लगायत नेपाल तामाङ घेदुङ साइप्रस, तमु सेवा समाज साइप्रस तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति थियो ।
कार्यक्रमको प्राविधिक पाटोलाई थप मनोरञ्जनात्मक बनाउन टेक्निसियन तथा डीजेको भूमिकामा डीजे माइचा (लक्ष्मी श्रेष्ठ) र डीजे माइक रहनुभएको थियो ।
उहाँहरूले आफ्नो सांगीतिक प्रस्तुतिबाट कार्यक्रममा रौनकता थप्नुभएको थियो । कार्यक्रमको आधिकारिक मिडिया पार्टनरको रूपमा सेफ्नो टिभीले साथ दिएको थियो, जसको प्रतिनिधित्व आत्माध्वाज लामा र सोम लामाले गर्नुभएको थियो ।
कार्यक्रमले साइप्रसमा रहेका नेपालीहरूबीच एकता, सद्भाव र सहकार्यको बलियो सन्देश दिएको छ । सभापति दुर्गा सुवेदीले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।