Home Login
प्रवास

मलेसियामा न्यूनतम तलब नदिने ६ सय ३७ कम्पनी कारबाहीमा

तिलोचन गौतम । मलेसिया — मलेसियामा न्यूनतम ज्याला र उचित बासस्थान नपाएको उजुरी गर्ने ११ नेपाली कामदारले न्याय पाएका छन् । मलेसियाको श्रम विभागले गत वर्ष आफ्ना कामदारहरूको कल्याण र आधारभूत आवश्यकताहरूको सुरक्षा गर्न असफल भएका ६ सय ३७ रोजगारदाता कम्पनीलाई लगभग ४० लाख रिंगेट क्षतिपूर्ति तिराएको हो । 

मलेसियाले देशभर एकैसाथ गरेको अपरेसनमा सेक्युरिटी गार्ड सप्लाईका ३५ कम्पनीहरूको निरीक्षण गरेको थियो । सो अपरेसन क्रममा ११ नेपाली कामदार बस्ने राजधानी क्वालालम्पुरमा रहेको प्लाजा महकोटाको एक इकाई पनि निरीक्षण गरिएको थियो ।

रोजगारदाताले नेपाली कामदारहरूलाई न्यूनतम ज्यालासहित कानुनद्वारा तोकिएबमोजिम आधारभूत सुविधा नदिएको पाइएको थियो । मलेसियामा गत फेब्रुअरी १ देखि न्यूनतम ज्याला १५ सय रिंगेट लागू गरेको हो तर कतिपय नेपाली सेक्युरिटी गार्डहरूले न्यूनतम तलब नपाएको र बैंक खातामा तलब जम्मा नगरिदिने गरेको गुनासो नेपाली राजदूतावाससमक्ष गर्दै आएका छन् । नेपाली दूतावासले न्यूनतम तलब नदिने कम्पनीको डिमान्ड प्रमाणीकरण नगर्ने नीति लिएको बताएको छ ।

Leave a Reply