साइप्रस — साइप्रसमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले यस वर्ष साइप्रसको पर्यटकीय सहर पाफोसमा पहिलो पटक सोनाम लोसार कार्यक्रम आयोजना हुने भएको छ ।
तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायले मनाउने महान् सांस्कृतिक पर्व सोनाम लोसारको अवसरमा उक्त विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आयोजक ‘लामा अपार्ट’ का अनुसार, आउँदो जनवरी १८ तारिख, आइतबारका दिन पाफोस सहरमा विशेष सांस्कृतिक कार्यक्रमसहित लोसार मनाउने तयारी गरिएको छ । कार्यक्रमका लागि आवश्यक तयारी सुरु भइसकेको र यसलाई सफल बनाउन सम्पूर्ण साइप्रसवासी नेपालीहरूको साथ र सहयोग अपरिहार्य रहेको आयोजकले जनाएको छ ।
‘प्रवासमा आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । यही भावनालाई आत्मसात् गर्दै हामीले पाफोसमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला गराई लोसारको शुभकामना आदानप्रदान गर्ने र रमाइलो गर्ने उद्देश्यले यो कार्यक्रम राखेका हौँ,’ आयोजक समितिका एक सदस्यले भने । उनले थपे, ‘पाफोस र आसपासका क्षेत्रमा रहनुभएका सबैलाई कार्यक्रममा उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ’ ।
कार्यक्रमलाई भव्य र सफल बनाउन तथा सबैको सहभागिता सुनिश्चित गर्न आयोजकले जनवरी १८ तारिखका दिन साइप्रसमा कुनै पनि अन्य औपचारिक वा व्यक्तिगत कार्यक्रमहरू नराखिदिनुहुन साइप्रसमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था तथा व्यक्तिहरूलाई विनम्र अनुरोध गरेको छ ।
‘यो हाम्रो साझा पर्व हो, त्यसैले यस दिन हामी सबै एकै ठाउँमा जम्मा भएर उत्सव मनाउन सकौँ भन्ने हाम्रो चाहना हो,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले जनवरी १८, आइतबारका दिन अन्य कुनै कार्यक्रम जुधाइदिनुभन्दा पनि हाम्रो यस प्रयासलाई साथ दिँदै पाफोसमै उपस्थित भई दिनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ’ ।
पाफोसमा पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय नेपाली समुदायमाझ उत्साह थपेको छ । कार्यक्रममा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने बताइएको छ । आयोजकले कार्यक्रमको समय र स्थानबारे छिट्टै विस्तृत जानकारी दिइने जनाएको छ ।