लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेइरामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न विशेष घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।
राजदूतावासले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर ६ र ७ (शनिबार र आइतबार) का दिन मदेरामा शिविर सञ्चालन हुने जानकारी गराएको हो ।
दूतावासका अनुसार, मदेरामा हुने यस शिविरमा राहदानी नविकरण तथा कागजात प्रमाणिकरण लगायतका कन्सुलर सेवाहरू उपलब्ध हुनेछन् ।
उक्त शिविरमा सेवा लिन चाहने सेवाग्राहीहरूका लागि राजदूतावासले अनलाइन अपोइन्टमेन्ट खुला गरेको छ । तर, दूतावासले स्पष्ट पारेको छ कि यी अपोइन्टमेन्टहरू केवल मदेइरा शिविरका लागि मात्र मान्य हुनेछन् । उक्त मितिको अपोइन्टमेन्ट लिएर पछि लिस्बनस्थित राजदूतावासमा आएमा राहदानी नविकरणको सुविधा उपलब्ध नहुने व्यहोरा दूतावासले स्पष्ट पारेको छ ।
लिस्बनस्थित दूतावास तीन दिन बन्द रहने
राजदूतावासले जारी गरेको सूचनामा अर्को महत्वपूर्ण जानकारी पनि गराइएको छ । मदेइरामा शिविर सञ्चालन हुने र सार्वजनिक बिदा समेत परेको हुँदा लिस्बनस्थित राजदूतावास निम्न मितिमा बन्द रहनेछ ।
०६ डिसेम्बर २०२५ (शनिबार)
०७ डिसेम्बर २०२५ (आइतबार)
०८ डिसेम्बर २०२५ (सोमबार)
दूतावासले यी तीन दिन कार्यालय बन्द रहने भएकाले, झुकिएर अपोइन्टमेन्ट नलिन र दूतावास कार्यालयमा नआउन सबैमा अनुरोध गरेको छ ।
दूतावासले मदेरामा रहेका नेपालीहरूलाई यस अवसरको लाभ लिन अनुरोध गर्दै, अनलाइन फारम भर्दा र अपोइन्टमेन्ट लिंदा स्थान र मिति राम्रोसँग यकिन गर्न आग्रह गरेको छ । विशेषगरी राजधानी लिस्बन भन्दा बाहिर टाढा (मदेइरा) मा हुने शिविरका लागि खोलिएको स्लटमा लिस्बनमै सेवा लिन चाहनेहरूले अपोइन्टमेन्ट बुक नगरिदिन समेत दूतावासले सचेत गराएको छ ।





