Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलको मदेइरामा दूतावासको ‘कन्सुलर’ शिविर : पहिलो दिनमै २० जना लिए सेवा

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली दूतावासले यहाँको प्रमुख पर्यटकीय गन्तव्य मानिने सामुद्रिक टापु ‘मदेइरा’मा रहेका नेपालीहरूलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी विशेष ‘कन्सुलर’ सेवा प्रवाह सुरु गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेको र आवागमनमा समेत कठिनाइ हुने उक्त क्षेत्रका नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले दूतावासले घरदैलोमै पुगेर सरकारी सेवा उपलब्ध गराएको हो ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा दूतावासको एक विशेष टोली मदेइरा आइल्याण्डको फुन्चाल पुगेको छ । टोलीले शनिबारदेखि औपचारिक रूपमा घुम्ती शिविर सञ्चालन गरी राहदानी नवीकरण तथा विभिन्न कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन थालेको हो । शिविर सुरु भएसँगै सेवा लिनका लागि शिविरस्थलमा सेवाग्राहीहरूको बाक्लो उपस्थिति रहन थालेको छ ।

दूतावासको टोलीका अनुसार शनिबार पहिलो दिनमै झण्डै २० जना नेपालीले सेवा लिइसकेका छन् । विशेषगरी राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) बनाउने प्रक्रिया र अन्य कानुनी कागजात प्रमाणीकरण गर्नुपर्ने समस्यामा रहेका नेपालीहरूले यो शिविरबाट प्रत्यक्ष लाभ लिइरहेका छन् ।

राजदूत प्रकाशमणि पौडेलले भौगोलिक दुरीका कारण सामान्य कागजी कामका लागि पनि लिस्बनसम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न र समस्यामा परेका नेपालीलाई उनिहरूकै कार्यक्षेत्रमा गएर सेवा दिन यो अभियान थालिएको बताए । उनले भने, “राहदानी र कागजात प्रमाणीकरणको समस्याले धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू अप्ठ्यारोमा पर्नुभएको थियो। उहाँहरूलाई सहज होस् भनेरै हामी मदेइरा आएका हौँ ।”

दुई दिनसम्म सञ्चालन हुने यस घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सयभन्दा बढी नेपालीले सेवा लिने अपेक्षा दूतावासले गरेको छ । राजदूत पौडेलले आइतबार साँझसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका अत्यावश्यक सेवा लिन मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रह समेत गरेका छन् ।

शिविर सञ्चालन भएपछि स्थानीय नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । सेवा लिन आएका सुवेदीले लिस्बनसम्म पुग्न लाग्ने महँगो हवाई भाडा, समयको बर्बादी र कामको हर्जानी जोगिएको भन्दै दूतावासको यो कदमको प्रशंसा गरे । “मदेइरामै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन पाउँदा यहाँ बस्ने हामी सबै नेपालीहरूका लागि अत्यन्तै सहज भएको छ,” उनले भने ।

सेवाग्राहीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै दूतावासले पछिल्लो समय राजधानी बाहिरका सहरहरूमा सेवा विस्तारलाई तीव्रता दिएको छ । यसअघि गत महिना मात्र दूतावासले पोर्चुगलको फारो सहरमा पनि यस्तै प्रकृतिको घुम्ती शिविर सञ्चालन गरेको थियो, जहाँबाट करिब दुई सय नेपालीले सेवा लिएका थिए । दूतावासको यस्तो सक्रियताले परदेशमा रहेका नेपालीहरूलाई राज्यको उपस्थितिको आभास दिलाएको छ ।

Leave a Reply