Home Login
AIMA News

जनवरी र फेब्रुअरीमा म्याद सकिने रेसिडेन्सी कार्डको नवीकरण पोर्टल खुल्यो

पोर्चुगल — पोर्चुगलमा बसोबास गरिरहेका आप्रवासीहरूका लागि आप्रवासन तथा शरणार्थी सम्बन्धी निकाय (एआईएमए) ले एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । विशेषगरी, जसको आवासीय अनुमति पत्र (रेसिडेन्सी कार्ड) को म्याद सन् २०२६ को जनवरी र फेब्रुअरी महिनामा सकिँदै छ, उहाँहरूका लागि अनलाइन नवीकरण प्रक्रिया अब आधिकारिक रूपमा खुला गरिएको छ। यो कदमले आप्रवासीहरूलाई आफ्नो कानुनी बसाइलाई सहज रूपमा निरन्तरता दिन ठूलो राहत प्रदान गर्नेछ ।

यस नयाँ व्यवस्था अनुसार, यदि तपाईंको आवासीय अनुमति पत्रको म्याद आगामी २०२६ को सुरुवाती दुई महिना अर्थात् जनवरी वा फेब्रुअरीमा समाप्त हुँदैछ भने, तपाईंले अब सरकारी कार्यालयमा गएर लाइन बस्नु पर्दैन। सम्बन्धित व्यक्तिहरूले सिधै आधिकारिक वेबसाइट portal-renovacoes.aima.gov.pt मा लगइन गरेर ‘अटोमेटिक रिन्यूअल’ वा स्वचालित नवीकरणको सुविधा लिन सक्नुहुनेछ ।

यो डिजिटल प्रणालीले नवीकरण प्रक्रियालाई छिटो, छरितो र झन्झटरहित बनाएको छ, जसले गर्दा सेवाग्राहीहरूले घरमै बसेर वा मोबाइलबाटै आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।

आप्रवासीहरूले आफ्नो पोर्चुगल बसाइलाई वैधानिक बनाइराख्न समयमै कार्ड नवीकरण गर्नु अनिवार्य हुन्छ। तसर्थ, सम्बन्धित निकायले यो समयसीमाभित्र पर्ने सबै सेवाग्राहीहरूलाई ढिलासुस्ती नगरी पोर्टलमा पहुँच राख्न र नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । अनलाइन पोर्टलमा गएपछि प्रयोगकर्ताले आफ्नो विवरण रुजु गरी शुल्क भुक्तानी गरेपछि नवीकरणको प्रक्रिया अघि बढ्नेछ र नयाँ कार्ड हुलाक मार्फत घरकै ठेगानामा उपलब्ध हुनेछ ।

अतः पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, जसको कार्डको म्याद २०२६ को जनवरी र फेब्रुअरीमा सकिँदै छ, उहाँहरूले यो अवसरको सदुपयोग गर्दै समयमै आफ्नो रेसिडेन्सी नवीकरण गर्नुहुन सूचित गरिन्छ ।

Leave a Reply