पोर्चुगल

नेप्लिज वोमन एसोसिएसन पोर्चुगल द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लिस्बन । नेप्लिज वोमन एसोसिएसन पोर्चुगलले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व तथा पोर्चुगलका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने संस्थाकी कार्यसमिति सदस्य एवं कलाकार कला पंगेनीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रम ज्ञात अज्ञात सहिदहरूको सम्झनामा मौन धारण,राष्ट्र गान हुँदै अगाडी बढेको थियो । संस्थाकी कोषाध्यक्ष देवी घिमिरे, सदस्य द्वय राधा रानाभाट र मिरा कार्की लगायत महिला कलाकारले स्वागत गीत गाएर आगन्तुक पाहुनाहरूको स्वागत गरेका थिए । संस्था की उपाध्यक्ष एवं लोक गायिका गीता रेउले ले महिला हिंसा सम्बन्धी सचेतनामूलक गीत प्रस्तुत गरेकी थिइन।

संस्थाले आयोजना गरेको कार्यक्रममा पोर्चुगलमा अवस्थित अन्य दर्जनौँ सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू, गैर आवासीय नेपाली संघका पदाधिकारीहरू साथै  सामाजिक अभियन्ता एवं अगुवाहरूले सम्बोधन गरेका थिए।

कार्यक्रममा वक्ताहरूले पोर्चुगलमा नेपाली महिलाहरूको अवस्था, श्रमिक महिलाको हक हित साथै अन्य समसामयिक विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमको अवसर पारेर तिहारमा देउसी भैलो कार्यक्रममा सहयोग गर्ने नेपाली समुदायका बाल कलाकारहरूलाई प्रोत्साहन पनि गरिएको थियो । बालबालिकाहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

अगुवाहरूले कार्यक्षेत्रमा हुने गरेका हिंसा, असमान ज्याला लगायतका बारेमा बोलेका थिए भने कसैले त्यस्तो अवस्था भोगेको अवस्था भएमा तुरुन्तै आफ्नो आवाज उठाउन महिलाहरूलाई सचेत गराएका थिए ।

आप्रवासनको समस्या बारे बोल्दै आप्रवासीको रूपमा पोर्चुगल छिरेका महिलाहरूले भोग्न परेका समस्याहरू र नयाँ आगन्तुक महिलाहरूलाई नेपाली एजेन्टहरूले गर्ने गरेको दुर्व्यवहार र ठगिको बारेमा पनि चर्चा भएको थियो ।

महिलाको समस्या समाधानमा महिलाहरूकै सक्रियता बढी प्रभावकारी हुने भन्दै वक्ताहरूले नेप्लिज वोमन एसोसिएसनलाई संस्थागत रूपमा बलियो बनाउने सुझावहरू पनि दिएका थिए ।

महिलाहरूले महावाणिज्यदूत मकर हमाल सँग महिलाका निजी समस्या र पारिवारिक झमेलाको बारेमा वाणिज्यदुत को कार्यालयले कस्तो किसिमको सहयोग या मध्यस्थता गर्न सक्दछ भनेर जिज्ञासा पनि राखेका थिए भने महावाणिजदुत हमालले महिलाका जिज्ञासाहरूको जवाफ दिएका थिए।

कार्यक्रम की सभापती एवं संस्था की अध्यक्ष शान्ती अर्याल को मन्तव्य सँगै कार्यक्रमको समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *