

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ।
आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका जेठारा विरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए। जेठारालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।