

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्बले धेरै भएको छ। २०८०/८१ को आठ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब २७ अर्बले धेरै थियो।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ । आर्थिक वर्ष २०७८/७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो । रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।
यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो ।
आयात सामान्य बढे पनि चालु खाता एक खर्ब ८० अर्ब रूपैयाँ नाफामै रहेको छ । गत आर्थिक वर्षको यो अवधिमा भने नाफा एक खर्ब ६७ अर्ब रूपैयाँ थियो ।
वार्षिक आधारमा सात वर्ष पछि गत आर्थिक वर्षबाट मुलुकको चालु खाता नाफामा देखिएको थियो । यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ ।
चालु आर्थिक वर्षको आठौ महिना पनि यसले निरन्तरता पाइरहेको छ। रोजगारीका लागि विदेशिएका नेपालीले पठाएको पैसा रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतको वृद्धि हो ।
राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार गत फागुनमा मात्र १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आएको छ । मासिक रूपमा तुलना गर्दा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । यसअघि गत असोजमा १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको फागुनमा रेमिट्यान्स १८.३ प्रतिशतले बढेको थियो ।
गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पनि बढेकाले रेमिट्यान्स वृद्धिमा सहयोग पुगेको हो । गएको आठ महिनामा ३ लाख १७ हजार ६८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् ।
सोही अवधिमा २ लाख १७ हजार ४ सय ३ ले पुनः श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ । गत वर्षको सोही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ८२ हजार ७ सय ८३ ले पुनः श्रम स्वीकृति लिएका थिए ।
गएको एक दशकको तथ्यांक हेर्दा पनि हरेक वर्ष लगातार रेमिट्यान्स बढेको देखिन्छ । जसअनुसार आर्थिक वर्ष ०७१/७२ मा सवा ६ खर्ब रेमिट्यान्स आएकोमा ०७७/७८ मा ९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा ०८०/८१ मा १४ खर्ब ४५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।